न्यून गुणस्तरको बिटुमिनको प्रयोगले सडकको आयु घट्दै

0
Shares

विदेशबाट पैठारी हुने न्यून गुणस्तरको कालोपत्रे (अलकत्रा अर्थात बिटुमिन) को प्रयोगले सडकको आयु कमजोर हुँदा देशमा सडक मर्मत सम्भारका नाममा करोडौंं रुपैंया सडकमा पानी झैं बगिरह पनि सम्बन्धीत निकायको ध्यान त्यसतर्फ जान सकेको छैन ।

कतिपय कालोपत्रे सडक बिग्रिनुमा सडकको डिजाइन, प्रयोगविधी र प्रयोग भएका पदार्थहरुको गुणस्तर जिम्मेवार हुने गरेपनि विशेष गरेर मध्यपूर्वका खाडी देश इरान, इराकबाट विभिन्न माध्यमबाट (जस्तो दुवई, मलेसिया, सिङ्गापुरमा प्रतित पत्र खोलेर) सिधै नेपालमा पैठारी हुने बिटुमिनको प्रयोगले पनि सडकको गुणस्तरमा सुधार आउन सकेको छैन ।

यस्तै त्यहि पद्वतीबाट भारतमा पैठारी गरेर ड्रम फिलिङ्ग गरी (कन्ट्री अफ ओरीजन इण्डीया बनाइएको) नेपालमा पैठारी भएका न्यून गुणस्तरका बिटुमिनको प्रयोगले पनि सडकको आयू कमजोर बनाउने गरेको छ ।

भारत सरकारको स्वामित्व भएका रिफायनरीहरुबाट नेपालमा पैठारी हुने बिटुमिनको बजार मूल्य प्रति के.जी. ६० देखि ७७ रुपैयाँसम्म पर्ने गरेको छ । तर गल्फबाट पैठारी हुने बिटुमिन तथा भारतमा पैठारी भइ फिलिङ्ग गरेर पुनः नेपालमा पैठारी भएका बिटुमिनको हालको बजार मूल्य ६० देखि ६५ प्रति के.जी. सम्म पाइन्छन् । यसरी पैठारी भएको बिटुमिनको मूल्य रिफायनरीहरुको मूल्य भन्दा करिब १० प्रति के.जी. न्यून छ ।

हाल सडक कालोपत्रे गर्ने कार्यको बोलपत्रमा प्रतिस्पर्धा गर्दा ३५ देखि ४० प्रतिशतसम्म न्यूनतम घटेर बोलपत्र लिने चलन छ अर्थात इष्टीमेट १०० को छ भने निर्माण कम्पनीले ६० देखि ६५ मा काम गर्न कबुल गर्दछन् । तसर्थ उच्च प्रतिस्पर्धामा बोलपत्र हात पार्ने निर्माण कम्पनीहरुको रोजाइमा सस्तो र न्यून गुणस्तरको बिटुमिन (गल्फ मुलुकबाट पैठारी भएका) पर्न जाने हुँदा सो को प्रयोगले सडकमा कालोपत्रे धेरै नटिक्ने इन्जिनियरहरु बताउँछन् ।

नेपालमा ९९.९ प्रतिशत बिटुमिन सडक कालोपत्रे गर्ने काममा मात्र प्रयोग गरिन्छ । तर नेपालमा पैठारी भएर ल्याब टेष्ट फेल भएका जस्तोसुकै बिटुमिन भएता पनि घुमिफिरी सडकमा नै प्रयोग भइरहेको छ र यसबाट न्यून गुणस्तरको बिटुमिनबाट सडक कालोपत्रे हुनजाँदा सडक टिकाउ हुने गरेको छैन ।

आजसम्म ल्याब टेष्ट फेल भएर रिजेक्ट (रद्द) भएका बिटुमिन विदेश फिर्ता गएको अथवा फलानो ठाउँमा नष्ट गरिएको भन्ने सुनिएको तथा देखिएको छैन । यसले न्यून गुणस्तर भएका बिटुमिन ल्याब टेष्ट पास नभएपनि घुमीफिरी सडकमा प्रयोग भइरहेका छन् ।

सोही कारण हरेक दिन पत्र पत्रिका, अनलाइन समाचार च्यानल, रेडियो तथा टेलिभिजनमा सडकमा कालोपत्रे उक्केको, कालोपत्रे गर्नासाथ उडेको, कालोपत्रे नबसेको आदि समाचार प्रशारण भइरहेका हुन्छन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ मंसिर २०७७, शनिबार  १२ : ५३ बजे