अन्तःशुल्क स्टिकर छपाइको टेण्डरमा नेपाली कम्पनीलाई ‘बाइपास’ गरेकोमा व्यवसायीको असन्तुष्टि

0
Shares

आन्तरिक राजस्व विभागले अन्तःशुल्क स्टिकर छपाइका लागि आह्वान गरेको टेण्डरमा नेपाली कम्पनीलाई ‘बाइपास’ गरिएको भन्दै सेक्युरिटी प्रिन्टिङसँग आबद्ध व्यवसायीले असन्तुष्टि जनाएका छन् ।

आन्तरिक राजस्व विभागले गत असोज २८ गते प्रकाशित गरेको अन्तरराष्ट्रिय बोलपत्रमा नेपाली उद्यमीले प्रतिस्पर्धा नै गर्न नसक्ने शर्तहरू राखिएको उनीहरुको आरोप छ । 

सार्वजनिक खरीद ऐनमा समेत नेपाली उद्यमीका लागि सकारात्मक विभेदको व्यवस्था गर्नुपर्ने प्रावधान रहे पनि त्यसलाई बेवास्ता गर्दै उक्त बोलपत्र आह्वान गरिएको उनीहरूको भनाई छ ।

नेपाली उद्यमीहरूले अन्तःशुल्क स्टिकर छाप्न सक्ने योग्यता पुष्टि गर्न मौका नदिई तथा विस्तृत अध्ययन अनुसन्धानबाट छाप्न नसक्ने पुष्टि नै नगरी पुनः विदेशीलाई ठेक्का दिने गरी टेन्डर आह्वान गरिएकोप्रति व्यवासयीले गम्भिर असन्तुष्टि व्यक्त गरेका हुन ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा मिराज प्रिन्टिङ सोलुसनका निर्देशक मनोहरराज घिमिरेले आन्तरिक राजश्व विभागले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश, अख्तियार दुरुपयोग अनुसनधान आयोग र संसद्को सार्वजनिक लेखा समितिको निर्देशन विपरीत बोलपत्र आह्वान गरेको बताए । अन्त शुक्ल स्टिकर भन्दा जटिल किसिमका वस्तुहरु नेपालमा नै छपाई हुँदै आएकोमा नेपाली उद्यमीलाई अविस्वास गरि अन्तराष्टिय बजारका केही सिमित खेलाडीकोबीचमा मात्रै प्रतिस्पर्धा गराउने उदेश्यले टेण्डर आह्वान गरिएको उनीहरुको आरोप छ ।

साथै उनीहरुले नेपाली व्यवसायीहरु टेण्डरमा सहभागी हुने स्थिति नदेखिएको भन्दै यसविरुद्ध अदालत जाने तयारीमा रहेको समेत जानकारी दिएका छन् । विभागले गत असोज २८ गते आह्वान गरेको बोलपत्रमा आवेदन गर्ने समय यहि मङ्सिर १४ गतेसम्म छ ।

मिराज प्रिन्टिङ सोलुसन अन्तरराष्ट्रिय मान्यता प्राप्त आईएसओ १४२९८:२०१३ सर्टिफाइड भएको र यो नै सेक्युरिटी प्रिन्टिङका लागि अन्तरराष्ट्रिय मान्यता भएको घिमिरेको दाबी गरे । जुन कुरा उद्योग विभागले समेत प्रमाणित गरिदिएको उनको भनाई छ ।

यस विषयमा मिराज कम्पनीले हालेको रिटमा सर्वोच्च अदालतले उत्प्रेषणको आदेश समेत जारी गर्दै निर्देशन दिएको थियो । अदालतको आदेश देखि संसदिय समितिको निर्देशनको वेवास्ता गर्दै बोलपत्र गरिएकोले आफुहरु बाध्य भएर पुन: अदालत जानुपर्ने परिस्थितिको सृजना भएको मिराज प्रिन्टिङद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। सरकारले नेपाली मुद्रण कम्पनीहरू सुरक्षित नभएको कारण स्टिकर छपाइको जिम्मा दिन नसकेको बताउँदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ मंसिर २०७७, मंगलबार  ११ : ५१ बजे