‘एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड’ को इकाईमा आवेदन खुल्यो

0
Shares

सामूहिक लगानी कोष एनआईसी ‘एशिया डाइनामिक डेब्ट फण्ड’ को १ करोड २५ लाख इकाईको बिक्री मंसिर १२ गते शुक्रबारदेखि खुला भएको छ ।

एनआईसी एशिया क्यापिटलले मंसिर १२ गतेदेखि एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड बिक्री खुला गरेको हो । क्यापिटलको योजना व्यवस्थापनमा पहिलो पटक खुलामुखी सामूहिक लगानी कोषको इकाई बिक्रीमा ल्याएको हो।

नेपाल धितोपत्र बोर्डबाट योजना अन्तर्गत ५० करोड रुपैयाँ बराबरको प्रति इकाई १० रुपैयाँका दरले ५ करोड बराबरको इकाई निष्काशन गर्न अनुमति पाएकोमा १५ प्रतिशत (७५ लाख इकाई) कोष प्रबद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखिएको छ । सर्वसाधारणमा बिक्रीमा आउने ४ करोड २५ लाख इकाईमध्ये पहिलो चरणमा १ करोड २५ लाख इकाई लागि बिक्री खुला गरिएको हो ।

यस योजनामा लगानीकर्ताले मंसिर १२ देखि १६ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । सो अवधिमा सबै इकाई खरीदका लागि माग नपरेको खण्डमा भने मंसिर २६ गतेसम्म आवेदन दिन पाइने जनाइएको छ ।

‘आजको हजार, भोलिको हजारौँ हजार’ भन्ने नाराको साथ बिक्रीमा आउन लागेको यस योजनामा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि एक हजार रुपैयाँदेखि र अधिकतम ५० लाख इकाईको लागि ५ करोड रुपैयाँसम्म सम्म आवेदन दिन सकिनेछ । योजनाको इकाई तोकिएका बिक्री केन्द्रबाट खरीद बिक्री समेत गर्न सकिनेछ । यस्तै हाल आवेदन दिएका लगानीकर्ताले तीन महिनापछि रकम थप्दै जान समेत सकिने जनाइएको छ ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटललाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्राएनपी एएमसी क्वालिटी ३’ रेटिङ्ग दिएको छ । यस्तै प्रवद्र्धकलाई इक्रा नेपालले ‘इक्राएनपी–बीबीबी प्लस’ रेटिङ्ग दिएको छ । यसले मध्यम जोखिम रहेको जनाउँछ ।

क्यापिटलको व्यवस्थापनमा यसअघि नै एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्ड गरी दुई वटा बन्दमुखी योजना हाल सञ्चालनमा रहेका छन् भने १ अर्ब रुपैयाँ आकारमा चौंथो बन्दमुखी योजना ‘एनआईसी एशिया सेलेक्ट ३०’ योजना बिक्रीका लागि समेत क्यापिटलले धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

यस योजनाले विशेषगरी कम लगानी जोखिम रहेका ऋणपत्रहरुमा लगानी गर्ने प्रमुख उदेश्य राखेकोे छ । योजना बिक्रीबाट प्राप्त हुने २० प्रतिशत रकम शेयर बजारमा ८० प्रतिशत रकम ऋणपत्रहरुमा लगानी गरिने जनाइएको छ ।

उच्च प्रतिफल र आम्दानी दिने यस योजनाको इकाईमा निर्धक्क भएर लगानी गर्नसक्ने क्यापिटलले जनाएको छ । ऋणपत्र उपकरणहरुमा मात्र लगानी गरिने र त्यसमा जोखिम कम हुने भएकोले यस योजनामा गरिने लगानी सबैभन्दा सुरक्षित हुने क्यापिटलको भनाई छ । फण्डको योजना व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले गत वर्षको मुनाफाबाट इकाइधनीलाई १२ प्रतिशत र ब्यालेन्सड् फण्डले ८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र निष्काशन क्रम तीब्र बनाइरहेको बेला प्रमुख लगानी ऋणपत्रमा गर्नेगरी फण्ड सञ्चालनमा आउन लागेकाले समग्र ऋणपत्र बजारको विकास गर्न टेवा पुग्ने विश्वास क्यापिटलको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार  ११ : २४ बजे