माउन्टेन इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै

0
Shares

माउन्टेन इनर्जी नेपालले कार्तिक २६ देखि मंसिर ३ गतेसम्म बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज १० बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले सो जानकारी अनुसार बिहान १० बजे आईपीओ बाँडफाँड गर्न लागेको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार यस आईपीओमा १ लाख ८३ हजार २६ जना आवेदक (जुन कूल आवेदकको २८ प्रतिशत हो) ले मात्र शेयर पाउनेछन् ।

जसमध्ये १ लाख ८३ हजार २१ जनाले गोलाप्रथाबाट १० कित्ता र ५ जनाले ११ कित्ताका दरले शेयर पाउनेछन् । २८ प्रतिशत मात्र हो । बाँकी ४ लाख (१ हजार ३९० जना ९ ७२ प्रतिशत आवेदक) को हात खाली हुनेछ । आईपीओामा ६ लाख ७४ हजार ४१६ जना आवेदकले आवेदन दिएका थिए ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत (३९ करोड ३६ लाख ५ हजार ४० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता) आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सो मध्ये जारी पूँजीको १० प्रतिशत (१९ लाख ६८ हजार २७ कित्ता) पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयहरुलाई जारी गरेकोमा सोही बराबरको शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।

सर्वसाधारणमा निष्काशनमा ल्याइएको शेयरमध्ये सामूहिक लगानी कोषहरुका लागि ९८ हजार ४०१ कित्ता र ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको हो ।

कम्पनीले माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओमा ७.६१ गुणा धेरै आवेदन परेको छ । कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ।

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटलले शेयर निष्काशन तथा बिक्री प्रबन्धक भएर शेयर जारी गरेका हुन् ।

कम्पनीले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको विवरणपत्रमा अनुसार आर्थिक वर्ष २०७८.७९ मा प्रतिशेयर आम्दानी ३६.८० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६५.२८रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीको छ । आयोजनामा चन्दप्रसाद ढकाल, मीनबहादुर गुरुङ, प्रमोदकुमार खेतान, प्रदिपजंग पाण्डे लगायतको प्रमुख लगानी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।