पत्रकारको सीप विकासका लागि नियामक निकायले बजेट छुट्याएरै तालिम दिनुपर्छः बीमा समिति अध्यक्ष चापागाँई

0
Shares

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले आर्थिक पत्रकारहरुको सीप विकास र क्षमता अभिवृद्धिका लागि नियामक निकायले बजेट नै छुट्याउनु पर्ने बताएका छन् ।

बुधबार आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उनले पत्रकारलाई सम्बन्धित क्षेत्रबारे राम्रो ज्ञान भएमात्र समाचार लेखनमा स्तरीयता आउने बताए ।

‘पत्रकारमा सम्बन्धित क्षेत्रबारे राम्रो ज्ञान भएमा उक्त क्षेत्रको सकारात्मक र नकारात्मक पक्षको उजागर तथा खबदारी गर्न सक्छन्,’ उनले भने, ‘यसो हुँदा हरेक नियामक निकायले पत्रकारको सीप, क्षमता विकासमा आफ्नो पक्षबाट सक्दो प्रयास गर्नु बाञ्छिनीय हुन्छ ।’

‘बीमा समितिले हरेक वर्ष पत्रकारहरुको सीप क्षमता विकासका लागि वार्षिकरुपमा बजेट नै छुट्याएर कार्यक्रमहरु आयोजना गर्ने गरेको छ,’ अध्यक्ष चापागाँईले भने, ‘यो वर्ष कोभिड–१९ का कारणले कार्यक्रमलाई निरन्तरता दिन सकिएन तर आगामी दिनमा यो परम्परालाई निरन्तरता दिने वातावरण समितिमा बनाउँछु ।’

४ वर्षे कार्यकाल सकिन केही दिन बाँकी रहँदा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई सुझाव दिँदै उनले पत्रकारको सीप र क्षमता विकासका लागि छुट्याइने वार्षिक बजेटलाई निरन्तरता दिनुपर्ने बताए ।

उनले आफ्नो कार्यकालको शुरुवातमा बीमाको पहुँच ७ प्रतिशत रहेकोमा हाल सो २७ प्रतिशत पुगेको बताँउँदै कार्यअवधिमा लक्ष्य अनुसारका अधिकांश काम पूरा गरेको जानकारी दिए ।

अध्यक्षको कार्यअवधिमा केही कामहरु प्रयास गर्दा गदै अधुरै रहेको भन्दै भावी नेतृत्वका लागि अधुरो काम पूर्ण गर्न सहज वातावरण सिर्जना गरेर समितिबाट विदा हुने उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले भविष्यमा समितिसँग पत्रकारहरुको सीप र क्षमता विकासका लागि तालिम, गोष्ठी तथा सेमिनार गर्न सदैव सहकार्य गर्न तयार रहेको बताए।

ढकालले बीमा क्षेत्रको नियामक निकायले पत्रकारहरुलाई आवश्यक सूचना संकलनमा सहजीकरण गर्न आग्रह गरे । साथै, अध्यक्ष ढकालले पत्रकारहरुको कोभिड बीमा र दावी भुक्तानी सहजीकरणमा समितिले पहल गर्न समेत गरे ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।