९२ प्रतिशत नेपालीको घरमा बिजुली, भान्सामा ०.५ प्रतिशत मात्रै प्रयोग


नेपालको सहरी क्षेत्रमा विद्युतीय प्रविधिबाट खाना पकाउनेको संख्या बढेको देखिएपनि कुल ०.५ प्रतिशत घरपरिवारले मात्र भान्सामा बिद्युतको प्रयोग गर्ने गरेका छन् ।

केन्द्रीय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ संक्षिप्त नतिजा अनुसार ९२ प्रतिशत घरपरिवार विद्युतको पहुँचमा भएता पनि ०.५ प्रतिशतले मात्र विद्युतको प्रयोग गरी खाना पकाउने गरेको पाइएको हो ।

सरकारले विद्युत खपत बढाउनका लागि विद्युतीय उपकरणहरुलाई प्रोत्साहन गरिरहँदा पनि नेपालीहरुको भान्सामा भने विद्युतको प्रयोग बढ्न सकेको छैन ।

नेपालमा कुल ६६ लाख ६० हजार ८४१ घरपरिवारमध्ये ६१ लाख ३९ हजार १४१ परिवारले विद्युत्को प्रयोग गर्ने भएपनि ३२ हजार ५७४ घरपारिवारले मात्र खाना बनाउन विद्युतको प्रयोग गर्ने गरेका छन् । यो कुल घरपरिवारको ०.५ प्रतिशत मात्र हो ।

अझै पनि अधिकांस नेपालीको भान्सामा दाउराको प्रयोग हुने गरेको छ । सबैभन्दा धेरै दाउरा बाल्नेको संख्या ३३ लाख ९८ हजार ३९६ अर्थात कुल परिवारको ५१ प्रतिशत छ । २०६८ सालमा दाउरामा खाना पकाउनेको संख्या कुल घरपरिवारको ६८ प्रतिशत रहेको थियो । २०६८ सालको तुलनामा दाउराबाट खाना पकाउनेको संख्या १७ प्रतिशतले कम हो ।

यस्तै एल.पि.ग्याँस प्रयोग गर्नेको संख्या २९ लाख ४९ हजार ९९५ रहेको छ । यो कुल परिवारको ४४ दशमलव ३ प्रतिशत हो । गुईठा÷गोरहाबाट खाना पकाउनेको संख्या १ लाख ९१ हजार ५३१ रहेको छ भने बायोग्यास प्रयोग गर्नेको संख्या ७८ हजार ४०६ रहेको छ । बायोग्यास प्रयोग गर्नेको संख्या कुल परिवारको ९ दशमलव २ प्रतिशत हो ।

यस्तै ३ हजार २९७ जनाले मट्टितेल प्रयोग गर्ने गरेका छन् भने अन्य तरिकाबाट ६ हजार ७२२ जनाले खाना पकाउने गरेका छन् ।
यस्तै केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ४ लाख ३९ हजार २८२ जनाले सोलार प्रयोग गर्ने गरेका छन् । यो कुल परिवारको ६ दशमलव ६ प्रतिशत हो । ३८ हजार ९०७ जनाले मट्टितेल प्रयोग गरेर बत्ती बाल्ने गरेको तथ्यांकमा उल्लेख छ । यो कुल परिवारको ० दशमलव ६ प्रतिशत हो ।

यस्तै २ हजार ३२ जनाले बायोग्यास प्रयोग गर्ने गरेका छन् भने ४१ हजार ४७९ जनाले बत्ती बाल्न अन्य स्रोत प्रयोग गर्ने गरेका छन् ।
केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरे अनुरुप नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।