लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ ।
पूर्वी खण्डमा अहिले मासिक साढे तीन प्रतिशत प्रगति रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । यसलाई बढाएर अर्कोे मासिक चारपाँच प्रतिशत पु¥याउने लक्ष्य लिइएको आयोजनाका प्रमुख प्रदीपराज शाक्यले बताए ।
सो सडकको विभिन्न खण्डमा कालोपत्रको काम भइरहेको उनले जानकारी दिए । उनले भने, “ चार लेनमा कालोपत्र गरिने भएपनि पहिले दुई लेनमा गरेर पछि अर्कोतर्फ गरिने योजना बनाइएको छ । एकै पटक सबैतिर साइट पनि खाली भइनसक्ने हुँदा एकातिर गरेर पछि अर्कोतर्फ हुनेछ । ”
सडक विस्तारको गति बढाउन अहिले जनशक्ति थप गरिएको र निर्माण सामग्री थप गरिरहेको प्रमुख शाक्यले जानकारी दिए । अहिले गिटी बालुवा केही मात्रामा अहिले पनि पाइरहेको र आगामी दिनमा विभिन्न पालिकाबाट पाइने अपेक्षा गरिएको छ । उनले भने, “दिन्छु भनेका पालिकाले दिएमा समस्या हुँदैन ।”
तत्काल अरु समस्या अरु नआएमा प्रगति बढ्ने देखिएको आयोजनाले जनाएको छ । निर्माणस्थल खाली भइरहेको र निर्माण कम्पनीले पनि जनशक्ति बढाएकाले गति बढ्ने देखिएको हो । अहिलेको अवधि साउनसम्म रहेकाले थपका लागि निर्माण कम्पनीले निवेदन दिएको आयोजनाले जनाएको छ । यस विषयमा पहिले अन्तराष्ट्रिय परामर्शदाताले मूल्याङ्कन गरेर टुङ्गो लगाउनुपर्ने उनले बताए ।
काम गरिरहँदा थप्नुपर्ने कारण छ भन्ने परामर्शदाताको सुझाबका आधारमा मात्रै थप हुनसक्ने उनले बताए । उनले भने, “परामर्शदाताले नै थप्न पर्छ वा पर्दैन र थप्ने भए कति थप्नुपर्छ भनेर प्रतिवेदन दिनुपर्छ ।” विभिन्न ठाउँमा पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ । बाटो सजिलो हुन अझै केही समय लाग्नसक्ने प्रमुख शाक्यले बताए । वर्षा सुरु हुनु पहिले नै सबै डाइभर्सन हटाउने प्रतिबद्धता निर्माण व्यवसायीले गरेको उनले जानकारी दिए । विगतका वर्षको वर्षाभन्दा यो वर्ष केही सजिलो हुने उनको भनाइ छ । दुई वर्ष पहिले वर्षाको समयमा सो सडक भएर यात्रा गर्न धेरै समस्या रहेको थियो । गत वर्ष पनि एकदुई ठाउँमा डाइभर्सन रहेकाले समस्या भए पनि आगामी वर्षामा त्यो नदोहोरिने उनले बताए ।
निर्माणस्थल खाली गराउन प्रक्रिया सकिए पनि काम भइसकेको छैन । निर्माण कम्पनीले सडकमा रहको बिभिन्न कुरा हटाउँदै खाली भएको खण्डमा निर्माणको काम गरिरहेको हो । विद्युतको पोल सार्ने, खानेपानीको पाइप सार्ने सबै काम निर्माण कम्पनीलाई नै जिम्मेवारी दिइएको छ । उनले भने, “उसले आफ्नो तालिकाअनुसार काम गरिरहेको छ ।”
अहिले तत्काल एकातिरबाट काम गर्ने र खाली भएपछि अर्कोतर्फ गर्ने गरी तत्काल एकातर्फको सडक मात्रै कालोपत्र भइरहेको छ । अहिलेको चुनौती भनेको निर्माण कम्पनीको व्यवस्थापन गरेर कामको प्रगति बढाउनु मात्रै रहेको उनले बताए । उनले भने, “पहिले अरु पक्षबाट बिभिन्न अवरोध भए पनि त्यो सबै सामाधन भइसकेको छ अब जसरी पनि कामको प्रगति बढाउनुपर्ने छ ।”
झण्डै छ दशकपछि अहिले विस्तार भइरहेको छ । एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा विस्तार सुरु भएको सडक निर्माणको लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ । सडक चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग सहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ ।
सरकारले पूर्व–पश्चिम राजमार्ग एशियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको छ । विभिन्न खण्डमा कतै विस्तार अघि बढीसकेको छ भने कतै विस्तारको तयारी अघि बढेको छ । विसं २०७५ मा सो सडक निर्माण सुरु भएको थियो । एक सय १४ किमी लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई योजनाअन्तर्गत काम अघि बढाइएको छ । दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्सट्रक्सन कर्पोरेशनलाई दिइएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया