कागतीखेतीबाट वार्षिक २० लाख आम्दानी


सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ ।

उमेरले ४५ वर्ष टेकेका उनले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् । मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट छन् उनी ।

लामो समय विदेशमा परिश्रम गर्नुभएका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसामा फर्किसकेका थिए । उनलाई कागतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ ।

दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आएका छन् । यतिबेला उनको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन् । बगानमा एक हजार दुई सय कागतीका बोट छन । फार्मले तीन जनालाई रोजगारी दिएको छ ।

बजारको भाउअनुुसार फल बेच्नुपर्ने हँुदा कागतीको यकिन मूल्य भने छैन । फार्ममा दाना प्रतिगोटा तीन रुपैयाँ र बिरुवा प्रतिगोट ८० रुपैयाँका दरले बिक्री हुँदै आएको छ । उनी भन्छन्,“चार वर्षअघि ३२ लाख रुपैयाँ लगानीमा कागतीखेती सुरुआत गरेँ । अहिले उखु, साग, केराउ, प्याज, लसुनलगायतका नगदे बाली छन् ।” बगानमा वार्षिक सात लाख रुपैयाँ दाना र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको छ ।

कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका छन् । बिरुवा बिक्रीबाट आठ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । कागतीको दाना र बिरुवाबाट वार्षिक २० लाख रुपैयाँमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपाने बताउँछन् ।

कागतीका बोट हुर्किँदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उनले बताए । कृषि प्राविधिकिसमेत रहेका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताउँछन् । उनी भन्छन्, “ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट ब्यहोर्नुपरेको छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ चैत २०७९, आइतबार  ०७ : ३७ बजे