डलर अर्बपति चौधरीको सम्पत्ति वर्ष दिनमै ४० अर्ब रुपैयाँले बढ्यो

डलर अर्बपति चौधरीको सम्पत्ति वर्ष दिनमै ४० अर्ब रुपैयाँले बढ्यो

नेपालका एक मात्र डलर अर्बपति विनोद कुमार चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा ३० करोड अमेरिकी डलर अर्थात ४० अर्ब रुपैयाँले बढेको छ । विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने फोब्र्स पत्रिकाका अनुसार अन्य धनाड्यहरुको सम्पत्ति घटिरहेका बेला उनको भने सम्पत्ति बढेको देखिएको हो ।

नेपालका चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलर (डलरको विनिमयदर अनुसार हेर्दा नेपाली रुपैयाँमा दुई खर्ब ३६ अर्ब रुपैयाँ) बराबर रहेको फोब्र्सको सूचीमा उल्लेख छ । गत वर्षको तुलनामा चौधरीको सम्पत्ति यस वर्ष ३० करोड अमेरिकी डलरले बढेको फोब्र्सले जनाएको छ । गत वर्ष उनको कुल सम्पत्ति १ अर्ब ५० करोड डलर थियो । चौधरी सन् २०१३ मा पहिलोपटक फोब्र्सको डलर अर्बपतिको सूचीमा प्रवेश गरेका थिए ।

वाइवाइ चाउचाउको उत्पादक कम्पनीका मालिकका रूपमा पनि विश्वभर चिनिएका उनी अर्बपतिको सूचीमा ३१८ स्थानले सुधार गर्दै १६४७ औं स्थानमा परेका छन् । यसअघि गत वर्षको अप्रिल महिनासम्म उनी १९६५ औं स्थानमा थिए । सीजी ग्रुप ग्लोबल, नबिल बैंक, सीजी फुड्स लगायत विभिन्न कम्पनीसँग आबद्ध चौधरीको व्यापार नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान लगायत देशमा फैलिएको छ । वाइवाइ चाउचाउको भारत, सर्बिया र बंगलादेशमा कारखाना रहेको छ । इजिप्टमा अर्को कारखाना निर्माणको चरणमा छ । उनको कम्पनी सीजी कर्प ग्लोबलले विश्वभर हस्पिटालिटी तथा अन्य क्षेत्रमा आफ्नो लगानी विस्तार गरेको छ भने सम्पत्तिको स्रोतमा विविध क्षेत्रहरूको आर्जनलाई उल्लेख गरेका छन् ।

उनको स्वामित्वमा सीजी ग्रुप अन्तर्गत १४३ वटा व्यवस्थापन तथा स्वामित्व लिइएका होटेल छन् । उनका छोराहरू निर्वाणले नेपालमा तथा राहुल र वरुणले विदेश बसेर सीजी ग्रुप हाँकिरहेका छन् । चौधरी हाल नेपाली कांग्रेसका तर्फबाट नवलपरासीबाट सांसद निर्वाचित भएका छन् ।

चौधरीको सम्पत्ति कहिले कति थियो ?

फोब्र्सका अनुसार चौधरीको सन् २०१४ मा रहेको सम्पत्ति र सन् २०२३ को सम्पीत्त तुलना गर्ने हो भने दश वर्ष अवधिमा ६३.६४ प्रतिशत अर्थात ७० अर्ब डलरले बढेको छ ।

  • सन् २०१४ः- १ दशमलव १ अर्ब डलर
  • सन् २०१५ः- १ दशमलव ३ अर्ब डलर
  • सन् २०१६ः- १ दशमलव १ अर्ब डलर
  • सन् २०१७ः- १ दशमलव ३ अर्ब डलर
  • सन् २०१८ः- १ दशमलव ५ अर्ब डलर
  • सन् २०१९ः- १ दशमलव ७ अर्ब डलर
  • सन् २०२०ः- १ दशमलव ४ अर्ब डलर
  • सन् २०२१ः- १ दशमलव ४ अर्ब डलर
  • सन् २०२२ः- १ दशमलव ५ अर्ब डलर
  • सन् २०२३ः- १ दशमलव ८ अर्ब डलर

बेर्नार्ड अर्नोल्ट पहिलो नम्बरमा

फोब्र्सले सार्वजनिक तथ्याङ्क अनुसार सन् २०२३ मा विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति १ खर्ब २२ खर्ब डलर (१२.२ ट्रिलियन) भएको छ । सन् २०२२ मार्चको तुलनामा अर्बपतिहरूको समग्र सम्पत्ति ५ खर्ब डलर (५ सय बिलियन) ले घटेको छ ।

सन् २०२३ मा विश्वका अर्बपतिहरूको सूचीमा फ्रान्सका बेर्नार्ड अर्नोल्ट पहिलो नम्बरमा छन् । उनको कुल सम्पत्ति २ खर्ब ११ अर्ब डलर रहेको छ । ७४ वर्षे मालिक बेर्नार्डको लुइस भ्यूटन तथा सेफोसहित विभिन्न ७५ कस्मेटिक ब्रान्डमा लगानी रहेको छ । उनको समग्र सम्पत्ति बढेको छ ।

गत वर्ष पहिलो नम्बरमा रहेका मस्क सहित आधा संख्याका अर्बपतिको सम्पत्ति पहिलेको तुलनामा घटेको छ । विश्वका दोस्रो धनी व्यक्तिका रूपमा रहेका एलन मस्कको सम्पत्ति अहिले घटेर १ खर्ब ८० अर्ब डलर हाराहारीमा झरेको छ । उनी विद्युतीय कार कम्पनी टेस्ला, ट्वीटर र स्पेसएक्सका मालिक हुन् ।

त्यस्तै अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति १ खर्ब १४ अर्ब डलर, टेक्नोलोजी कम्पनीका ओराकलका मालिक लरी इलिसनको १ खर्ब ७ अर्ब, फाइनान्स तथा इन्भेष्टमेन्ट कम्पनी बार्कसेयर हाथवेका मालिक वारेन बफेटको सम्पत्ति १ खर्ब ६ अर्ब, माइक्रोसफ्टका मालिक बिल गेट्सको १ खर्ब ४ अर्ब, ब्लूमवर्गाका मालिक माइकल ब्लुमबर्गको सम्पत्ति ९४ अर्ब ५० करोड, टेलिकम्युनिकेशन कम्पनी कार्लोस स्लिम हेलूको ९३ अर्ब, भारतका अर्बपति मुकेश अम्बानीको ८३ अर्ब ४० करोड र माइक्रोसफ्टका मालिक स्टेभ बल्मेर ८० अर्ब ७० कराड डलर सम्पत्ति सहित अर्बपतिको सूचीमा शीर्ष १० नम्बरमा छन् । यीमध्ये मस्क, बेजोस, बफेट, गेट्स, अम्बानी र बल्मेरको सम्पत्ति मूल्य गत वर्षको तुलनामा घटेको छ ।

फोब्र्सले सार्वजनिक गरेको २०२३ को सुचीअनुसार अर्बपतिको संख्या घटेको छ । सन् २०२२ को लिस्टमा २६६८ जना अर्बपति रहेकोमा २०२३ मा घटेर २६४० मा आइपुगेको छ । फोब्र्सका अनुसार सबैभन्दा बढी अमेरिकामा ७३५ जना अर्बपति छन् । अमेरिकाका अर्बपतिहरुको सम्पत्ति ४.५ ट्रिलियन डलर रहेको छ । चीनमा दोस्रो धेरै ५६२ जना अर्बपतिसँग २ ट्रिलियन सम्पत्ति छ । तेस्रोमा रहेको भारतमा १६९ जना अर्बपति छन् । उनीहरुको सम्पत्ति ६७५ अर्ब अमेरिकी डलर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २३ चैत २०७९, बिहीबार १४ : १६ बजे