नागरिक लगानी कोषको नाफा पौने ७८ करोड, अन्य वित्तीय अवस्था कस्तो ?

0
Shares

नागरिक लगानी कोषले ७७ करोड ७९ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सोमबार सार्वजनिक वित्तीय विवरण अनुसार कोषको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा २६.१५ प्रतिशत वृद्धि भएको हो ।

गत आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कोषले ६१ करोड ६६ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । ब्याज आम्दानी र सेवा शुल्क तथा कमिसन आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । कोषको कुल आय २१.९४ प्रतिशतले बढेर १ अर्ब २५ क।ोड ६९ लाख १६ हजार रुपैयाँ पुगेको छ । यस्तै कुल खर्च ५.३६ प्रतिशत वृद्धि भई २१ करोड ९६ लाख ५८ हजार रहेको छ ।

कोषको ब्याज आम्दानी १४ करोड ७५ लाख २५ हजार रुपैयाँबाट १०६.७७ प्रतिशतले बढेर ३० करोड ५० लाख ३२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै सेवा शुल्क तथा कमिसन बापत कोषले ९३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । सेवा शुल्क तथा कमिसन ५.९३ प्रतिशतले बढेको छ ।

सेयर पूँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको कोषको प्रति सेयर आम्दानी २४ रुपैयाँ ४० पैसामा सीमित भएको छ । चालू आवको तेस्रो त्रैमासम्म कोषको चुक्ता पुँजी ३० प्रतिशतले बढाएको कम्पनीको मुनाफा सोही अनुपातमा बढ्न नसकेपछि ३ रुपैयाँ १ पैसाले कोषको प्रति सेयर आम्दानी घटेको हो । कोषको प्रतिसेयर नेटवर्थ २०१.८७ रुपैयाँ, कोषको लागत ८.४८ प्रतिशत, लगानीमा प्रतिफल ९.६७ प्रतिशत, फन्ड टू इन्भेष्टमेन्ट रेसियो ९९ प्रतिशत र मूल्य आम्दानी अनुपात ८५.६५ गुणा रहेको छ ।

कोषले चालू आवमा सेयर प्रिमियम रकम ७७.५६ प्रतिशतले घटेर २८ करोड ३८ लाख ७८ हजार रुपैयाँ सञ्चित गरेको छ । गत आवको सोही अवधिमा सेयर प्रिमियममा १ अर्ब २६ करोड ४८ लाख ७८ हजार रुपैयाँ थियो ।  त्यस्तै कोषको जगेडा कोष पनि गत आवको तुलनामा चालू आवमा १८.५४ प्रतिशतले घटेको छ । गत आवमा कोषको जगेडा कोषमा २० अर्ब ३० करोड ३६ लाख ६६ हजार रहेकोमा चालू आवमा १६ अर्ब ५३ करोड ९४ लाख ६६ हजार मा सीमित भएको छ ।

कोषको संगठित संस्थाको सेयर तथा धितोपत्रमा लगानी बढेर २९ अर्ब २९ करोड ८४ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा धितोपत्रमा १६ अर्ब ६५ करोड ६१ लाख ४६ हजार रुपैयाँ थियो ।

यस्तै मुद्दती निक्षेपको लगानी १ खर्ब ७ अर्ब १२ करोडबाट १ खर्ब १० अर्ब ४७ करोड लगानी गरेको छ । नागरिक स्टक डिलरमा २ अर्ब ५५ करोड लगानी गरेको कोषले २३ अर्ब १३ करोड समयकालीन कर्जा, ४७ अर्ब १८ करोड ९३ लाख रुपैयाँ सहभागि सापटी तथा आवास कर्जा लगानी गरेको छ । चैत मसान्तसम्म कोषको चालु सम्पत्ति २५ अर्ब ४५ करोड ७८ लाख र बैंक मौज्दात १ अर्ब १८ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।