निर्धन उत्थानको खुद नाफा ८० करोडबाट ४ करोडमा खुम्चियो

0
Shares

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ९४.५२ प्रतिशत घटेको छ । खुद ब्याज आम्दानी घटेको र लघुवित्तको खराब कर्जा उल्लेख्य बढेपछि सम्भावित कर्जा नोक्सानी वापतको व्यवस्था बढेका कारण कम्पनीको मुनाफामा उच्च गिरावट आएको हाे ।

लघुवित्तले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ४ करोड ४० लाख २४ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ८० करोड २६ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात ३.३३ बाट बढेर १२.०९ प्रतिशत पुगेको छ । खराब कर्जामा आएको उच्च वृद्धिका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज बढेर ८६ करोड १९ लाख ९८ हजार रुपैयाँ पुगेको छ । यसले लघुवित्तको नाफामा असर पुगेको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ करोड ८९ लाख खराब कर्जा उठाएको थियो ।

लघुवित्तले चैतसम्म २४ अर्ब २ करोड ७६ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन तथा सापटीबाट २५ अर्ब ५७ करोड ९० लाख ३० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा क्रमशः १.८२ र ५.८५ प्रतिशत कम हो ।

चैत मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ७६ पैसाबाट घटेर २ रुपैयाँ २५ पैसामा सीमित भएको छ ।समीक्षा अवधिमा कम्पनीको इपीएस ४६ रुपैयाँ ५१ पैसा घटेको हो । लघुवित्तको प्रति सेयर नेटवर्थ १७३ रुपैयाँ ७६ पैसा, कष्ट अफ फन्ड ८.२७ प्रतिशत र मूल्य आम्दानी अनुपात २७७.७८ गुणा छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.१९ प्रतिशत घटेर १ अर्ब ४० करोड ९७ लाख ५२ हजार रहेको छ । सम्भावित कर्जा नोक्सानीका कारण लघुवित्तको सञ्चालन मुनाफा ९४.३७ प्रतिशत घटेर ६ करोड ४५ लाख ३९ हजारमा सीमित भएको छ ।

चुक्ता पूँजीको १९ प्रतिशत बोनसले वृद्धिपछि २ अर्ब ६१ करोड २० लाख ७९ हजार रुपैयाँ कायम भएको छ । यस्तै जगेडा तथा कोष २०.८० प्रतिशतले घटेर १ अर्ब ९२ करोड ६७ लाख २० हजार रुपैयाँमा सीमित भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।