साथीसँग कनेक्ट आईपीएसको सजिलो भुक्तानीको खुसी बाँड्दा २५–२५ रुपैयाँ पाइने

0
Shares

साथिसँग कनेक्ट आईपीएसको सजिलो भुक्तानी सेवामा रजिष्ट्रर हुन यहि जेठ १ देखि असार ३१ गतेसम्म अनुरोध पठाएमा अनुरोध पठाउने व्यक्ति र अनुराेध स्वीकार गर्ने साथी दुबैले २५–२५ रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

नेपाल क्लियरिङ्ग हाउसले विकास गरेको कनेक्ट आईपीएसमा उक्त सेवा प्रयोग गर्न सुझाउने ‘रिफरर’ ले २५ आफ्नो बैंक खतामा र सो अनुरोध अनुसार सेवा प्रयोग गर्ने व्यक्ति ‘रिफरि’ ले २५ रुपैयाँको मोबाईल टप–अप प्राप्त गर्न सक्ने भएका हुन् । उक्त अफर विसं २०८० जेठ १ देखि दुई महिनासम्म अर्थात असार ३१ गतेसम्म मात्र मान्य हुने जनाइएको छ ।

कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर अन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् ।  यसरी अफरको फाइदा लिन ‘रिफरर’ ले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो ‘रिफरर कोड’ नम्बर दिनुपर्ने हुन्छ । ‘रिफरि’ ले भने कनेक्ट आईपीएसमा नयाँ यूजर रजिष्ट्रर गर्दा उक्त ‘रिफरर कोड’ दाखिला गरी एक पटक आफ्नो मोबाईल नम्बर र इमेल आईडी भेरीफाई गरे पश्चात ‘रिफरर’ ले २५ रुपैयाँ बैंक खतामा र ‘रिफरि’ ले आफ्नो रजिष्ट्रर भएको मोबाइल नम्बरमा २५ रुपैयाँको टप–अप प्राप्त गर्नेछ ।

‘रिफरर’ ले आफ्नो ‘रिफरल कोड’ सँगै लिङ्क पनि सेयर गर्न सक्नेछ र ‘रिफरि’ले उक्त लिङ्क क्लिक गरी डब्लुडब्लुडब्लु डट कनेक्ट आईपीएस डटकम वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्ने क्लियरिङ्ग हाउसले जनाएको छ ।

कनेक्ट आईपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिङ्क गरी फण्ड ट्रान्सफर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आईपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ ।

कनेक्ट आईपीएस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फि, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबार, नेपाल पे क्यूआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।

कनेक्ट आईपीएस मार्फत चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ५२ सदस्य बैंक वित्तीय संस्था मार्फत २८ खर्ब ५० अर्ब बराबरको ३ करोड ६० लाख भन्दा बढी भुक्तानी कारोबार फछ्र्यौट भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।