चार कम्पनीको साढे ४२ लाख कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार चार कम्पनीको कुल ४२ लाख ५६ हजार ४५१ दशमलव ३ कित्ता सेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार कृषि विकास बैंक, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेसनको बोनस सेयर सूचीकृत भएको हो ।

सोमबार कृषि विकास बैंकको चुक्ता पुँजीको २ प्रतिशतले हुन आउने २६ लाख ३७ हजार ५८३ दशमलव १५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस्तै मिर्मिरे लघुवित्तको चुक्ता पुँजीको २३ प्रतिशतले हुन आउने १२ लाख २१ हजार ७७२ दशमलव ३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सोमबार नै साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने २ लाख ५३ हजार ५३१ दशमलव १९ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने स्वाभिमान लघुवित्तको चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने २ लाख ४३ हजार ५६४ दशमलव ३० कित्ता बोनस सेयर पनि आजै नेप्सेमा सूचीकृत भएको छ ।

कहिलेसम्म कायम सेयरधनीले पाउँछन् बोनस ?

कृषि विकास बैंकको बोनस सेयर २०७९ फागुन २९ गतेसम्म कायम सेयरधनी, मिर्मिरे लघुवित्तका २०७९ पुस १९ गते, स्वाभिमान लघुवित्तका २०७९ चैत २ गते र साल्ट ट्रेडिङ्ग कर्पोरेसनका फागुन २५ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र आज सूचीकृत बोनस सेयर प्राप्त गर्न सक्नेछन् ।

साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो दिनसम्म कारोबार भई बोनस पाउन योग्य सेयरधनीले सो बोनस सेयर हितग्राही खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

कृषि विकास बैंकको चैत १४ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको २ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद लाभांश पारित गरेको थियो । मिर्मिरे लघुवित्तको पुस ३० गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको २३ प्रतिशत बोनस सेयर पारित गरेको थियो ।

यस्तै स्वाभिमान लघुवित्तको चैत ११ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०२६ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

साल्ट ट्रेडिङ्ग कर्पोरेसनको चैत १० गते सम्पन्न ५६ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

कृषि विकास बैंक र साल्ट ट्रेडिङ्ग कर्पोरेसनको नगद लाभांश भने यसअघि नै वितरण भैसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।