हिम रिभर पावरले साढे २६ करोडको आईपीओ ल्याउने

0
Shares

हिम रिभर पावर लिमिटेडले २६ करोड ६० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावर निर्माण गरिरहेको कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका २६ लाख ६० हजार कित्ता आईपीओ जारी गर्ने जनाएको हो । कम्पनीले जारी पुँजीको २० प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्ने भएको हो ।

कम्पनीका अनुसार १३ लाख ३० हजार कित्ता आयोजना प्रभावित बासिन्दालाई बिक्री हुनेछ । बाँकी १३ लाख ३० हजार कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गर्नेछ ।

आइपीओ बिक्रीका लागि कम्पनीले सद्धार्थ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा सिद्धार्थ क्यापिटलसँग बैशाख ३ गते सम्झौता गरेको कम्पनीले सुख्खा याममा पनि अधिकतम विद्युत उत्पादन हुने आयोजनाका लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गर्ने बताएको छ ।

भोटेकोशी गाउँपालिका स्थित लिपिङ खोला हाइड्रोपावर आयोजनाको काठमाण्डौं नक्सालमा कार्यालय रहेको छ । आयोजनामा हालसम्म ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताइएको छ । आयोजनाको सञ्चालकहरुम सरल सहयात्री पौडेल, बुद्धि बहादुर थापा, सुदिप कुमार चौधरी, प्रदिप कुमार पौडेल, किरण कुमार श्रेष्ठ, गणेश बहादुर खत्री र राम बहादुर थापा रहेका छन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।