नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैको म्याद तीन दिन थपियो


नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई तीन दिनको म्याद दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूमध्ये १३ जनामाथिको प्रारम्भिक बयान लिने काम जिल्ला सरकारी वकिलको कार्यालयले सकेको छ । पछिल्लो समयमा पक्राउ परेको पूर्वसभासद् आङटावा शेर्पासँग भने आज बयान जारी छ । यसअघि उक्त घटनामा मुछिएका पूर्वमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग सोमबार र मङ्गलबार बयान लिइएको थियो ।

अन्य ११ आरोपीको बयान भने आईतबार सकिएको छ । अब तीन दिनमा आवश्यक बाँकी अनुसन्धान गरी अन्तिम प्रतिवेदन बनाएर सरकारी वकीलको कार्यालयमा पेश गर्ने तयारी प्रहरीको छ । उनीहरूमाथि प्रहरीले सङ्गठित अपराध र ठगीमा अनुसन्धान गरिरहेको छ । अब प्रहरीलाई उनीहरूमाथि अनुसन्धान गर्न सात दिनको मात्रै समय छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ ठगी भएको फेला परेपछि प्रहरीले त्यस घटनामा जोडिएका पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी अनुसान गरिरहेको छ ।

संगठित अपराध र ठगीमा मात्र अनुसन्धान भइरहेकोमा उनीहरुलाई मानव तस्करीमा कार्वाही गरिनुपर्ने माग भइरहेको छ । – रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।