विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा

0
Shares

लामो समयदेखि विद्युत् महशुल नतिर्ने हेटौँडाका ६७ उद्योग सहित ५४२ ग्राहकलाई कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रले पटक–पटक विद्युत् महशुल बुझाउनका लागि ताकेता गर्दा समेत अटेर गरेकाले विद्युत् लाइन काटेर ग्राहकको विवरण सार्वजनिक गरेको छ ।

केन्द्रले कालोसूचीमा पर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै आगामी असार मसान्तसम्म वक्यौता भुक्तानी गरे १० प्रतिशत छुट दिने समेत घोषणा गरेको छ ।

केन्द्रका अनुसार कालोसूचीमा पर्नेमा ग्राहथ्यतर्फ ४६४, व्यापारिकतर्फ तीन, औद्यौगिकतर्फ ६७, सिँचाइतर्फ एक, गैरव्यापारिकतर्फ दुई, यातायाततर्फ तीन र खानेपानीतर्फ दुई ग्राहक रहेको केन्द्रका इञ्जिनियर सन्तोष चौहानले जानकारी दिए । कालोसूचीमा परेकाबाट केन्द्रले ९२ लाख ४७ हजार ८८८ असुल गर्नुपर्ने छ ।

त्यसैगरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पालुङ्ग मकवानपुरले महशुल नतिर्ने ९७ ग्राहकलाई कालोसूचीमा राखेको छ । केन्द्रका प्रमुख वीरमान रास्कोटीले उनीहरुबाट १ करोड रकम उठ्न बाँकी रहेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।