सिद्धबाबा सुरुङ मार्ग निर्माणलाई तिव्रता दिइने

0
Shares

सिद्धबाबा सुरुङ मार्ग निर्माणले तीव्र गति पाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०– ८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले सिद्धबाबा सुरुङ मार्ग निर्माणलाई तीव्र गति दिइने बताए ।

रुपन्देही र पाल्पा जिल्लाको सीमा क्षेत्र तिनाउ गाउँपालिका–३ मा सिद्धबाबा क्षेत्रको पहिराबाट भइरहेको धनजनको क्षति रोक्नका लागि सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु गरिएको हो ।

सुरुङ मार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का सम्झौता गरेको हो । एक हजार १२६ मिटर लम्बाइको सुरुङ मार्गका लागि ७ अर्ब ३४ करोड २१ लाखमा चाइना स्टेटले सम्झौता गरेको हो । सम्झौता अनुरूप पाँच वर्षमा सुरुङ मार्ग बनाइसक्नुपर्ने छ । अहिले निर्माण कम्पनीले पूर्वतयारीस्वरूप डाइभर्सन सडक पूरा गरी टनेल पोर्टलको काम गरिहेको आयोजनाले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ मा निर्माण सुरु भएको सुरुङ मार्गअन्तर्गत सडक डाइभर्सनको काम सकिएर टर्नेल पोर्टलको काम भइरहेको छ । आयोजनाका अनुसार एक हजार एक सय २६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिराले बर्सेनि ठूला दुर्घटना हुने गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।