विद्युत् उत्पादन कम्पनीले माग्यो सीईओ पदमा दरखास्त

0
Shares

विद्युत उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दरखास्त आह्वान गरेको छ । कम्पनीले जेठ ११ गते सीईओ पदका लागि १५ दिनको समय राखेर दरखास्त आह्वान गरेको हो ।

विद्युत् उत्पादन कम्पनी लिमिटेडको सीईओको पदावधि नियुक्ति मितिले चार वर्षको हुने गर्दछ । कम्पनीको सीईओका लागि इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातक गरेको हुनुपर्नेछ । साथै जलविद्युत क्षेत्रमा कम्तिमा ४ वर्षको कार्य अनुभव सहित पूर्वाधार क्षेत्रमा कम्तिमा १२ वर्षको कार्य अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ ।

यस्तै इन्जिनियरिङ विषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा कम्तिमा ४ वर्षको कार्य अनुभव र अन्य पूर्वाधार क्षेत्रको कम्तीमा २ वर्षको कार्य अनुभव सहित मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धत प्राप्त शैक्षिक संस्थामा सम्बन्धित क्षेत्रमा पूर्णकालीन अध्यापन वा अध्ययन अनुसन्धानको अनुभव सहित कम्तिमा १२ वर्षको अनुभव भएको व्यक्तिले पनि आवेदन दिनसक्ने योग्यता निर्धारण गरिएको छ । आवेदक ४० वर्ष पूरा भई ६१ वर्ष ननाघेको हुनुपर्नेछ ।

योग्यता पुगेका नेपाली नागरिकले दरखास्तसँगै आफ्नो बायोडाटा र व्यवसायिक रणनीति कार्ययोजना सहित तोकिएको मितिभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

विद्युत् उत्पादन कम्पनी लिमिटेड जलविद्युत आयोजनाहरु निर्माण गर्ने एकमात्र उद्देश्य राखेर २०७३ मंसिर ५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत दर्ता भएको थियो ।

ऊर्जा मन्त्रालयका सचिव अध्यक्ष रहने यस कम्पनीमा ऊर्जा मन्त्रालयले मनोनयन गर्ने २ जना र अर्थ मन्त्रालय र कानुन मन्त्रालयबाट आलोपालो गरी १ जना, संस्थापक सेयरधनीहरु २ जना, सर्वसाधारण सेयरधनीहरु मध्येबाट २ जना र जलविद्युत विशेषज्ञ तथा वित्त विशेषज्ञ गरी २ जना रहने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।