लगानीकर्ताले गलत बुझेको स्वीकार, लगानीकर्ता र आन्तरिक राजस्व विभागबीच सहमति

0
Shares

आन्तरिक राजस्व विभाग र सेयर लगानीकर्ताबीच समझादरी बनेको छ । सरकारले व्यवसयिक रुपमा सेयर कारोबार गरी भएको आयमा कर लगाएको विषयलाई विभागले लगानीकर्तालाई स्पष्ट पारेको हो ।

बुधबार विभागका अधिकारी र लगानीकर्ताबीच भएको छलफलपछि लगानीकर्ता स्पष्ट भएका छन् । लगानीकर्ताले सरकारले गरेको सेयर कारोबारको आयमा कर लगानी व्यवस्थालाई लगानीकर्ताले गलत बुझेकाले समस्या जटिल बनेको सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले नोटबजारलाई जानकारी दिए ।

“सरकारले व्यवसायका रुपमा सेयर कारोबार गरी भएको आय भन्न खोजेको रहेछ,” उनले भने,“हामीले आम लगानीकर्ता भनेर बुझेपछि समस्या आएको थियो, विभागसँग छलफल गरेपछि त्यो स्पष्ट भएको छ ।” व्यक्तिगत लगानीकर्ताको हकमा पुँजीगत लाभकर अन्तिम भएको विभागले स्पष्ट पारेको समेत उनले जनाकारी दिए ।

व्यवसायिक रुपमा सेयर कारोबार नगरी व्यक्तिगत रुपमा जतिपनि कारोबार गरेको अवस्थामा भएको आयमा पुँजीगत लाभकर नै अन्तिम भएको विभागका अधिकारीले बताएको उनले जानकारी दिए । व्यक्तिगत लगानीकर्ताको हकमा सेयर बजारबाट भएको आयलाई व्यक्तिगत दम्पत्तिको आयको ६ लाखको सीमासँग जोडर कर नलाग्ने अवस्था रहेको उनको भनाई छ ।

कुनै एक व्यक्तिले ६ लाख आम्दानी गरेको छ र सेयर बजारबाट थप १ लाख आम्दानी गरेको अवस्थामा कुल आय ७ लाख मानेर ६ लाख रुपैयाँभन्दा माथिको रकममा थप १० प्रतिशत कर लाग्दैन । उक्त व्यक्तिले सेयर बजारबाट गरेको आयमा ५ देखि साढे ७ प्रतिशतसम्म पुँजीगत लाभ कर तिरे मात्र पुग्ने जानकारी विभागले दिएको फुल्लेलको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।