सहकारीको रकम हिनामिना गर्ने ६ जना पक्राउ

0
Shares

नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७९५ हिनामिना गर्ने ६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा एकता बुद्ध सहकारी संस्थाका कार्यकारी अध्यक्ष बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, उपाध्यक्ष ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, सचिव ५० वर्षीय सोमलाल श्रेष्ठ,  ब्यवस्थापक ३४ वर्षीय शम्भु कार्की र कोषाध्यक्ष गोरखा पालुङटार नगरपालिका–७ का ५८ वर्षीय रामकुमार श्रेष्ठ र सदस्य ५२ वर्षीय वीरबहादुर तामाङ रहेका ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए ।

उनले उक्त संस्थाका बचत कर्ताबाट मुद्दती तथा बचत खातामा करोडौं रुपैयाँ निक्षेप सङ्कलन गरी संस्थाका सञ्चालकले व्यक्तिगत लाभका लागि प्रयोग गरेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए । “उनीहरुले सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धरासायी बनाइ बचतकर्ताको फिर्ता गर्नुपर्ने रकम तोकिएको मितिभित्र भुक्तानी नगरेको उजुरीका आधारमा पक्राउ गरिएको हो”, ब्यूरोका प्रवक्ता थापाले भने ।

आर्थिक हिनामिना र अन्तरिक संस्थागत किचलोले गर्दा सहकारीका पीडित बचतकर्ताहरु मारमा परिरेका छन् । पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।