भ्रष्टाचारका कारण लोकतन्त्र क्षयीकरण हुन थालेकोप्रति नागरिक अगुवाको चिन्ता

0
Shares

नागरिक समाजका अगुवाले भ्रष्टाचारका कारण लोकतन्त्र क्षयीकरण हुन थालेकाले लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि भ्रष्टाचारविरुद्धको अभियानमा सहभागिताका लागि आह्वान गरेका छन् ।

मानवअधिकार तथा शान्ति समाजद्वारा २८ औं स्थापना दिवसको सन्दर्भमा आज आयोजित कार्यक्रममा नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले भ्रष्टाचारका कारण लोकतन्त्रको क्षयीकरण हुन थालेकोप्रति चिन्ता व्यक्त गरे । “मानवअधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयक गोष्ठीमा उनले लोकतन्त्रको विकल्प खोज्न नहुने र भ्रष्टाचारमा संलग्नलाई दण्डित गर्न ढिलो गर्न नहुने बताए ।

नागरिक अगुवा कृष्ण पहाडीले शीर्ष नेता भ्रष्ट भएका कारण नागरिकमा निराशा बढ्दै गएको भन्दै भ्रष्ट नेतालाई कारबाही गरी लोकतन्त्र बचाउनुपर्ने बताउनुभयो । समाजका कावा सभापति कृष्णबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव रेनुका पौडेलले शान्ति समाजद्वारा तयार गरिएको “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” शीर्षकको अवधारणापत्र प्रस्तुत गरेका थिए ।

अवधारणापत्रमा मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता, सामाजिक न्याय, जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य, स्वयंसेवी/स्वाबलम्बी अन्दोलन, मानवताको उच्चतम अभिव्यक्ति उपशीर्षकमा शान्ति समाजको कार्यक्षेत्र र वर्तमान सन्दर्भमा केन्द्रित अभियानबारे प्रकाश पारिएको छ ।

कार्यक्रममा नागरिक अगुवा डा. केदारनरसिंह केसी, समाजका पूर्वसभापति तथा सल्लाहकारद्वय उत्तम पुडासैनी र गोविन्द खनाल, पूर्वसभापतिहरु डा. गङ्गाधर अधिकारी र होमकान्त चौलागाई, कोषाध्यक्ष किरण ढकालले भ्रष्टाचार न्यूनीकरण अभियानमा सबैको एक मत हुनुपर्नेमा जोड दिए । स्रष्टा अर्जुन पराजुली, रामबहादुर पहाडी, रामेश्वरी पन्त र रत्ननीधि रेग्मीले भ्रष्टाचार विरुद्ध कविता प्रस्तुत गरेका थिए ।

शान्ति समाज स्थापना दिवसका अवसरमा जेठ १६ गतेदेखि विभिन्न जिल्लामा सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान, पुस्तकदान, वस्त्रदानलगायत दर्जनौँ कार्यक्रम सम्पन्न भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर्न जोड दिँदै शान्ति समाजले सुरु गरेको अभियान अन्तर्गत विभिन्न जिल्लामा प्रदर्शन भइसकेको छ । शान्ति समाज पाल्पा शाखाले निरन्तर १७ वटा प्रदर्शन गरेको छ । विसं २०५३ जेठ १९ गते मानवअधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । यसको संस्थापक सभापति कृष्ण पहाडी छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।