प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको साधारण सभाः चुक्ता पुँजी पुग्यो ८ करोड

0
Shares

लगानी ब्यवस्थापन सेवा प्रदान गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङले कम्पनीको केन्द्रीय कार्यालयमा शुक्रबार नवौं साधारणसभा सम्पन्न गरेको छ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आगामी आर्थिक बर्षका लागि लेखापरीक्षकको नियुक्ति लगायतका साधारण प्रस्तावहरु पारित गरेको छ । यसैगरी कम्पनीको मर्जर एक्वीजिसन गर्न बोर्डलाई अनुमति दिने, पूँजी वृद्धि गर्ने, नियामक निकाय धितोपत्र बोर्डबाट कर्पोरेट एडभाइजरी, प्राइभेट इक्वीटी, अन्डर राइटर, इस्यु मेनेजरको कारोबार गर्न अनुमतिका लागि आवेदन गर्ने, लगायतका विशेष प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीका सचिव लीलानाथ घिमिरेले सेयरधनी स्वयं र प्रतिनिधि मार्फत सभामा ८० प्रतिशत सेयरधनीको उपस्थिति रहेकाले सभाको गणपूरक संख्या पुगेको जानकारी दिएका थिए । उनले विश्वब्यापी रुपमा आर्थिक मन्दिको असर परेका बेला समेत प्रोभिडेन्टको सक्षम ब्यवस्थापनले कम्पनीलाई राम्रोसँग संचालन गर्न सकेको बताए ।

सभामा कम्पनीका कार्यकारी अध्यक्ष डा. बिमलकुमार तिवारीले गत आर्थिक वर्षमा धितोपत्र बजारमा आएको गिरावटको प्रभाव कम्पनीको बासलातमा पर्न गएको बताउँदै संकुचनको मार्गमा चलेको धितोपत्र बजारमा लगानी ब्यवस्थापन सेवामा न्युन मात्रै सुधारको कारण कम्पनी सन्तोषजनक अबस्थामा आएको जानकारी दिए । कम्पनीको चुक्ता पूँजी ८ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभामा कम्पनीका सञ्चालक बलराम घिमिरे (पंकज) लगायत सेयरधनीहरुको सहभागिता थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।