प्रतिपक्षको विरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान ११ बजेलाई सर्यो

प्रतिपक्षको विरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान ११ बजेलाई सर्यो

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेकाे नागरिकता विधेयकमाथि प्रतिपक्ष दलहरूले विरोध गरेपछि प्रतिनिधि सभाको आजै दोस्रो पटक डाकिएको बैठक भोलिका लागि सरेको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो । बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब डेढ घण्टा ढिलो मात्र सुरु भएको थियो ।

बैठक सुरु हुनेवित्तिकै नागरिकता विधेयक प्रमाणीकरण भएको विषय उठाएर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक अवरोध गरेका थिए । प्रतिपक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका थिए । तर प्रतिपक्षले विरोध कायमै राख्ने भएपछि आज बस्ने भनिएको बैठक संसद् भोलि सोमबार बिहान ११ बजेसम्मका लागि सरेको हो । सङ्घीय संसद् प्रनिनिधिसभाले सूचना जारी गर्दै बैठक भोलिका लागि सरेको जानकारी गराएको छ ।

नागरिकता विधेयकलाई संसदीय प्रक्रियाबाटै पारित गरिनुपर्ने एमाले, रास्वपा र राप्रपाको माग छ । आजको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्लेनले नागरिकता विधेयक संसदमा प्रस्तुत गरेर प्रक्रियाबाटै जानुपर्ने धारणा राख्नुभएको थियो ।

राष्ट्रिय सभाको बैठकमा पनि प्रतिपक्षले यो विषय उठाएपछि आजको बैठक स्थगित भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ जेठ २०८०, आइतबार १८ : ४८ बजे