इटाली सरकारलाई नेपालमा लगानी बढाउन उद्योग मन्त्रीको आग्रह


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उच्च प्रतिफल प्राप्त गर्ने क्षेत्रमा लगानी बढाउन इटाली सरकारसँग आग्रह गरेको छन् । इटालीका गैर–आवासीय राजदूत भिन्सेन्जो डि लुकाको शिष्टाचार भेटमा मन्त्री रिजालले सूचना प्रविधि, पूर्वाधार विकास, सेवा क्षेत्र, जलविद्युत्, कृषि क्षेत्रलगायतमा लगानी बढाउन र विविधिकरण गर्न आग्रह गरेका हुन ।

इटालीबाट भित्रिएको प्रत्यक्ष विदेशी लगानीको प्रशंसा गर्दै उनले नेपालमा लगानी भित्र्याउन राजदूतले अधिकतम प्रयास गर्ने विश्वास व्यक्त गरेका छन ।
भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग तथा व्यापार र लगानीलगायत विषयमा छलफल भएको थियो । भेटमा मन्त्री रिजालले नेपाल र इटालीले विभिन्न विषयमा साझा धारणा राखेको र बहुपक्षीय फोरममा मिलेर काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि यस्तो सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका थिए । उनले भूकम्प तथा कोभिड–१९ महामारीका समयमा इटाली सरकारले गरेको सहयोगको सरहाना गरे । नेपाल अल्पविकसित राष्ट्रको स्थितिबाट स्तरोन्नति हुने चरणमा रहेको उल्लेख गर्दै मन्त्री रिजालले आगामी दिनमा इटाली सरकारले आफ्नो सहयोगको दायरा बढाउने विश्वास व्यक्त गरेका थिए ।

भेटमा गैरआवासीय राजदूत लुकाले नेपालसँग इटालीको व्यापार बढेको उल्लेख गर्दै इटालीमा उत्पादन भएका नयाँ प्रविधिका मेसिन नेपालमा आपूर्ति गर्न सकिने बताए । नेपाल र इटालीबीच द्विपक्षीय सम्बन्धबाट ब्यापार लगानी वृद्धि गर्न सकिने उनले स्पष्ट पारेका छन । इटाली सरकारले २०३० सालमा ‘रोम एक्स्पो’ आयोजना गर्न लागेको जानकारी दिँदै राजदूत लुकाले उक्त एक्स्पोमा नेपाली कला संस्कृति र पहिचानसहित नेपालको पनि सहभागिता रहने विश्वास व्यक्त गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ जेठ २०८०, सोमबार  १६ : ३२ बजे