जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूबाट लाभ लिन सामूहिक प्रयास गर्नुपर्छः अध्यक्ष सिलवाल

0
Shares

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जलवायु परिवर्तनका कारण चुनौतीहरू मात्र आउने नभई यसबाट बीमा क्षेत्रमा अवसरहरू समेत सिर्जना हुने भएकाले अवसरबाट लाभ लिनका लागि सम्बद्ध सबैले सामूहिक रूपमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्राधिकरणद्धारा आयोजित एशियाली बीमा सम्मेलनको समापन सत्रमा आफ्नो धारणा राख्दै उनले सम्मेलनबाट विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक, बीमा मध्यस्थकर्ता र बीमा क्षेत्रका विज्ञहरू एउटै छातामुनी रहेर बीमा क्षेत्रका नयाँ नयाँ जोखिम र जोखिम न्यूनीकरणका विषयमा छलफल एवम् अन्तरक्रिया तथा आपसी अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएको बताए ।

सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने, “जोखिम व्यवस्थापन, बीमा क्षेत्रमा नवीनतम् प्रविधि र डिजिटल प्रणालीको महत्व, बीमाको पहुँच वृद्धि, नियामक निकायको क्षमता अभिवृद्धि लगायतका विषयमा भएका प्रस्तुती, छलफल एवम् अन्तरक्रियाहरू उपलब्धीमूलक भएको छ ।”

अध्यक्ष सिलवालले इन्टरनेशनल एशोसियसन अफ इन्स्योेन्स सुपरभाइजर्स (आईएआईएस), एशियाली विकास बैंक (एडिबी) र एसेस टू इन्स्योरेन्स इनिसियटिभ्स (ए२आईआई) को निरन्तरको सहयोगप्रति आभार प्रकट गर्दैआगामी दिनमा विभिन्न देशको आवश्यकताका आधारमा सहयोगले विस्तारितरूपमा निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

तीन दिनसम्म आयोजना भएको सम्मेलन शनिबार काठमाडौंमा सम्पन्न भएको हो । सम्मेलनमा नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, मकाओ, जोर्डन, मलेसिया, फिलिपिन्स, सिंगापुर, जापान लगायत विभिन्न २० देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरूको संलग्नता थियो । यस्तै सम्मेलनमा बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघुबीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमाङ्की, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक सङ्घ संस्था र बीमा क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

यही जेठ २५ गतेदेखि २७ गतेसम्म भएको सम्मेलनमा बीमा क्षेत्रका नयाँ नयाँ जोखिम, जोखिम व्यवस्थापन, जोखिम व्यवस्थापनमा नियामक निकायको भूमिका, बीमा व्यवसायको विविधता, स्वच्छता र समावेशिता, नवीनतम् प्रविधि तथा डिजिटल प्रणालीको प्रयोग, बीमाको पहुँच वृद्धि, नियामक निकायहरूबीच सम्बन्ध सुदढीकरण तथा साझेदारी, जोखिममा आधारित पूँजी, कृषि बीमा लगायतका विषयहरूमा कार्यपत्र प्रस्तुती, छलफल एवम् अन्तरक्रियाहरू भएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ जेठ २०८०, आइतबार  ११ : ५३ बजे