आइसिसी विश्वकप क्रिकेट छनोटः नेपालद्धारा नेदरल्यान्ड्ससामू १६८ रनको लक्ष्य प्रस्तुत

0
Shares

आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो चौथो खेलमा नेपालले नेदरल्यान्ड्ससामू १६८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो ।

ताकासिंगा स्पोट्र्स क्लबमा भएको खेलमा नेपाली टिमको खातामा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन बनाए । सन्दीप लामिछानेले र कुशल भुर्तेलले समान २७ रन जोड्दा भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रनको योगदान गरेका हुन् । नेपालका कुनै पनि ब्याटर नेदरल्यान्ड्सविरुद्ध खुलेर खेल्न सकेनन् ।

नेदरल्यान्ड्सका लागि लोगन भान बीकले चार विकेट लिए । विक्रम जित सिंह र बास डे लिडेल समान दुई–दुई विकेट लिँदा क्लाटोन फ्लोएड र आर्यन दत्तले एक–एक विकेट लिन सफल भए । जिम्बाब्वेमा जारी सुपर सिक्समा छनोट हुन जित्नैपर्ने दबाबमा रहेको रहेको नेपालले नेदरल्यान्ड्सलाई समान्य लक्ष्य दिएको हो । आजको खेल नेपालले जितेपनि अन्तिम खेलमा वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाइ हराउँदा मात्रै नेपाललाई छनोट हुने अवसर मिल्नेछ ।

नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।

पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराएको थियो । पुनः तेस्रो खेलमा वेस्ट इन्डिजसँग नेपालले १०१ रनको पराजय भोग्नुपरेको थियो । 

छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।

समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् । शनिबार स्कटल्यान्डसँग १११ रनको फराकिलो हार बेहोरेसँगै यूएई आईसीसी क्रिकेट विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।