नेपाल विश्वकप छनोटको समूह चरणबाटै बाहिरियो

0
Shares

नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएसँगै नेपाल आईसीसी क्रिकेट विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ । कमजोर ब्याटिङसँगै समूह चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपालको ‘सुपर सिक्स’मा प्रवेश गर्ने  सम्भावना चकनाचुर भएको हो ।

जिम्बाबे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने बाध्यता थियाे ।

शनिबार ताकासिंगा स्पोट्र्स क्लबमा भएको खेलमा नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । यससँगै नेदरल्यान्ड्सले सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेको हो भने नेपाल समुह चरणबाटै बाहिरिएको छ ।

समूह ‘ए’ बाट वेष्ट इण्डिज, जिम्बाब्वे र नेदरल्याण्ड्स सुपर सिक्समा पुग्दा नेपाल र अमेरिका बाहिरिएको हाे । अब नेपालले १७ असारमा युएईसँग प्लेअफमा खेल्नेछ ।

नेदरल्याण्ड्सको जितमा म्याक्सवेल ओ’ डाउडको योगदान अतुलनीय थियो । ७५ बलको सामना गरेका उनले ८ चौका र चार छक्काको मदतमा ९० रन बनाए । म्याक्सवेललाई गुल्सन झाले २७ औं ओभरको पहिलो बलमा बोल्ड गरेका थिए ।

नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको सुरुवात निकै राम्रो रह्यो । पावर प्लेमा विना विकेटको क्षतिमा ५८ रन बनाएको नेदरल्याण्ड्सका म्याक्सवेलले १२ औं ओभरको चौथो बलमा ललित राजवंशीलाई छक्का हान्दै अर्धशतक पूरा गरेका थिए । १३ औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले ३० रनमा क्रिजमा रहेका विक्रमजित सिंहलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई पहिलो विकेट दिलाए । यति बेला उसको स्कोर ८६ रन थियो । पुनः सन्दीपले नै
१५ औं ओभरको पाँचौं बलमा वेस्ली बर्रेसी ३ रनमा दोस्रो विकेट लिँदै आउट गरे । तर क्रिजमा टिकिरहेका म्याक्सवेलले बास डी लिडेसँग मिलेर म्याक्सवेलले ६४ रनको साझेदारी गर्दा गुल्सन झाले २७ औं ओभरको पहिलो बलमा बोल्ड गरेका थिए । त्यसपछि भित्रिएका नयाँ ब्याट्सम्यान तेजा निदामानुसँग बासले नेदरल्याण्डलाई जित मात्र दिलाएनन्, सुपर सिक्समा पनि पुर्‍याएका हुन् ।

डच टोलीसँग नेपालका कुनै पनि ब्याटर नेदरल्यान्ड्सविरुद्ध खुलेर खेल्न सकेनन् । नेपाली टिमको कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३३ रन बनाए । सन्दीप लामिछानेले र कुशल भुर्तेलले समान २७ रन जोड्दा भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रनको योगदान गरेका थिए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्यान्ड्सका लागि लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए भने बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट हात पारे ।क्लाटोन फ्लोएड र आर्यन दत्तले एक–एक विकेट लिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।