वित्तीय स्थायित्व जोगाउन बैंकहरुको सम्पत्तिको गुणस्तरमा निरन्तर सर्तकता र सुपरीवेक्षण आवश्यक

0
Shares

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालमा वित्तीय स्थायित्व कायम गर्न सर्तकता पूर्वक कर्जाको गुणस्तरमा निगरानी र यसका लागि चरणबद्ध नियमन र सुपरीवेक्षणलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।

विस्तारित कर्जा सुविधा (इसिएफ) को तेस्रो समीक्षाका लागि एशिया प्यासिफिक डिभिजनका उप–प्रमुख टिडियन किन्डाको नेतृत्वमा नेपाल आएको आईएमएफ टोलीले साउन ६ देखि १० सम्म नेपालमा रहेका सम्बन्धित अधिकारीहरुसँगको भेटपछि यस्तो बताएको हो ।

चालु आर्थिक वर्षको बजेटप्रति सकरात्मक दृष्टिकोण राख्दै आइएमएफले बजेट विवेकपूर्ण ढङ्गले कार्यान्वयन भएमा पुँजीगत खर्चको दक्षता वृद्धि हुनुका साथै वित्तीय स्थायित्व सुनिश्चित गर्न सफल रहने जनाएको छ ।

गत आवमा आन्तरिक तथा बाह्य झड्काका कारण आर्थिक वृद्धि दरमा कमी आएता पनि चालु आवमा नेपालको आर्थिक वृद्धि दर बढ्ने, आकाशिएको मुद्रास्फीति दर घट्ने र बाह्य स्थितिमा सुधार आउने आइएमएफको टोलीले समीक्षापछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति सावधान र तथ्यांकमा आधारित रहेको र यस नीतिले मूल्य तथा बाह्य स्थायित्व कायम गर्न उपयुक्त रहेको जिकिर छ ।

आइएमएफको विस्तारित कर्जा सुविधाले लिएको उद्देश्य परिपूर्तिका लागि नेपालका सम्बन्धित अधिकारीहरुको प्रयास स्वागतयोग्य रहेको किन्डाले बताएका छन् । आईएमएफले ईसीएफ अन्तर्गत नेपाल सरकारलाई बिनाब्याजको ३७ करोड डलरको ऋण सुविधा प्रदान गरेको छ । यसमध्ये हालसम्म नेपालले दुई किस्तामा १५ करोड ७४ लाख डलर सुविधा पाइसकेको छ । आईएमएफको आगामी सेप्टेम्बरमा हुने भ्रमणले कर्जा सुविधा अन्तर्गत कार्यान्वयन गरिने विषयवस्तुको अवलोकन गर्ने बताएको छ ।

आईएमएफको टोलीले अर्थमन्त्री डा प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ लगायत उच्च सरकारी तथा केन्द्रीय बैंकका अधिकारी र निजी क्षेत्र तथा विकास साझेदारहरूका प्रतिनिधिहरूसँग भेटघाट गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।