वर्ल्ड ट्रेड सेन्टरमा बुधबारदेखि पाँच दिन तीज मेला, छुट र दैनिक उपहार योजना

0
Shares

नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै काठमाण्डौंको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा तीज मेलाको आयोजना हुने भएको छ । वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डिइसीसी नेपालले तीज मेलाको आयोजना गर्न लागेको हो ।

डिइसीसी नेपालका प्रबन्ध निर्देशक मनोज गुरुङले विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौं संस्करण आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार यस पटकको मेलालाई ए.एस इभेण्ट्स एण्ड मार्केटिङले प्रवद्र्धन तथा व्यवस्थापन गर्नेछ ।

भदौ ६ गतेदेखि १० गतेसम्म ५ दिनसम्म चल्ने मेलामा १०० भन्दा बढी स्टल रहनेछन् । तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै महिलाहरुलाई एकै स्थानमा उपलब्ध हुनेछ । सस्तो मूल्यमा महिलाहरुका दैनिक प्रयोगका सामान किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको डिइसीसीका प्रबन्ध निर्देशक गुरुङले जानकारी दिए ।

उनका अनुसार सबै स्टल बुकिङ भईसकेका छन् भने गैरनाफामुलक संस्थाहरुलाई मेलामा निशुल्क स्टलको व्यवस्था गरिएको र त्यस्ता संस्था सम्पर्कमा आए स्टल थप गरेर उपलब्ध गराइनेछ । विशेष गरी महिला उद्यमी तथा व्यवसायीहरुको व्यवसाय बिस्तार एवं प्रवद्र्धनको लक्ष्य सहित मेला आयोजना गरिएको भन्दै उनले मेला अवलोकन गरी आवश्यक सामग्री खरिद गर्न आम उपभोक्तालाई आग्रह गरे ।

नेपालका साथै छिमेकी मुलुकका प्रदर्शक तथा बिक्रेताहरुको सहभागिता रहने मेलामा लत्ताकपडा, कस्मेटिक, चुरा पोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनी खरिद गर्न सकिने व्यवस्था गरिएको ए.एस मार्केटिङका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए । विगत वर्षको तुलनामा नयाँ किसिमले मेलाको व्यवस्थापन गरिएकाले बिक्रेता, प्रदर्शक तथा अवलोकनकर्ता र उपभोक्ताले मेलाबाट फाइदा लिन सक्ने श्रेष्ठको भनाई छ ।

कोकाकोला, वुका, सन डाउन बाइ कर्मा, स्याङ्को, एक्स्प्रेस थकाली, शिवशक्ति फेशन, भेस्पर वाइन लगायतका ब्राण्डको सहयोग रहेको मेलामा उल्लेखित ब्राण्डका तर्फबाट मेला अवलोकनकर्ताहरुलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । ट्रेड सेन्टरमा रहेका रेस्टुरेण्टहरुमा अवलोकनकर्तालाई छुट साथै विभिन्न किसिमका सामग्रीहरुमा भारी छुटको व्यवस्था गरिएको डिएसीसीले जनाएको छ ।

डे टू डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । फूड भौचर तथा डिस्काउण्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।