माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?


माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको कार्यालय प्रभु क्यापिटलमा आइतबार बाँडफाँड गरिएको हो ।

कम्पनीको आइपीओ गोलाप्रथामार्फत १ लाख २० हजार ५३२ जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।आइपीओमा १० लाख १६ हजार ७१४ आवेदकबाट १ करोड १० लाख ८९ हजार ५ सय कित्ताको लागि आवेदन माग भएको थियो । जसमध्ये ८ लाख ७५ हजार ४१८ आवेदकबाट ९४ लाख ५३ हजार २८० कित्ताको माग सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) को सिस्टमबाट स्वीकृत भएको थियो । स्वीकृत आवेदकमध्ये २५ सय ८१ वटा आवेदन रित पूर्वक नपरेका कारण रद्ध गरिएको प्रभु क्यापिटलले जनाएको छ । सो पश्चात् कायम हुन आएको ८ लाख ७२ हजार ८३२ आवेदनबाट परेको ९४ लाख १७ हजार ८७० लाई बाँडफाँडमा सहभागी गराइएको थियो । 

माण्डु हाइड्रोपावरले भदौ १० गतदेखि १२ लाख पाँच हजार ३२० कित्ताको लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले पहिलो चरणमा जारी पूँजीको २ प्रतिशत अर्थात २ करोड ७२ लाख ७३ हजार रुपैयाँ बराबरको २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने सेयरको १० प्रतिशत अर्थात १ करोड ३६ लाख ३६ हजार ४०० रुपैयाँ बराबरको १ लाख ३६ हजार ३६४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

दोस्रो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । सोमध्ये कर्मचारी र सामूहिक लगानी कोष बाँडफाँड गरि बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयर सर्वसाधारणको लागि आवेदन माग गरिएको थियो ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले मकवानपुर जिल्लामा निर्माण गरि २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना अहिले सञ्चालनमा रहेको छ । यस आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ । प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ देखिएको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.९६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.९६ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति २६ वर्ष ३ महिना बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।