एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु वा जो कोही योग्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्ने छन् । सेयरको न्यूनतम मूल्य प्रति सेयर ३६० रुपैयाँ तोकिएको छ ।

इच्छुक लगानीकर्ताले आज अर्थात असोज ४ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् । बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंबाट प्राप्त गर्न सकिनेछ । एकै व्यक्ति वा कम्पनीले शेयर खरीदका लागि एउटा मात्र बोलपत्र मार्फत आवेदन दिनुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकत्तम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नम्बर आवेदन फाराममा उल्लेख गर्नु पर्नेछ ।बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको सेयर संख्या तथा आफूले कबोल गरेको प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ ।

रितपूर्वक आवेदन गर्ने आवेदकहरु सबैलाई बाँडफाँडमा समावेश गरिने छ । बिक्रीको लागि आव्हान गरिएको सेयर संख्या भन्दा बढी संख्यामा सेयर खरीदका लागि आवेदन प्राप्त हुन आएमा माग गरेको सेयरको आधारमा समानुपातिक रुपमा निकटतम पूर्ण अंकमा सेयर बाँडफाँड गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असाेज २०८०, बिहीबार  ०७ : २६ बजे