चिरख्वा हाइड्रोपावरमा आजदेखि सर्वसाधारणले आवेदन दिन पाउने


चिरख्वा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरे पश्चात् सर्वसाधारणमा आइपीओ जारी गरेको हो ।

कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाहरुका लागि ४ लाख कित्ता निष्काशन गरेको थियो। जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँड गरेको छ । त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले स्थानिय बासिन्दाका लागि बाँडफाँड गरी बाँकी रहेको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आइपीओमा असोज २३ गतेदेखि असोज २६ गतेसम्म आवेदन दिनु पर्ने छ । उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि कात्तिक ३ गतेसम्म लम्बिने छ ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

कस्तो छ कम्पनी ?

चिरख्वा हाइड्रोपावर लिमिटेडलले प्रबर्धन गरिरहेको ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत् आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । उक्त कम्पनीको प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.३९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति २८ वर्ष ८ महिना बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।