दसैं लगत्तै सुनको भाउले बनायो नयाँ रेकर्ड, अझै बढ्न सक्ने विश्लेषकहरुको अनुमान


दसैं लगत्तै सुनको मूल्य नयाँ उचाईमा पुगेको छ ।  दसैं अघिको अन्तिम कारोबार दिन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको  सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुन १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। त्यसैगरी आज तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

इजरायल–प्यालेस्टिन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण लगानीकर्ता सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित भएकाले सुनको मूल्य वृद्धिमा चाप परेको विश्लेषकहरुको भनाइ छ । भाउ बढ्ने क्रम अझै जारी रहने उनीहरुको अनुमान छ ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने स्थिर रहेको छ। दशैं अघि तोलाको १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।