काठमाडौँ । चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ । जिल्लामा दुई दर्जन जलविद्युत् आयोजनाहरु निर्माण भएपछि उद्योगधन्दाको विस्तार भएको हो । नेपालकै पुरानो उद्योग समेत इलाममा नै रहेको छ । १९२० सालमा स्थापना भएको इलाम चिया कारखाना सदरमुकाममा रहेको छ ।
कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि भएसँगै तिनको प्रशोधन गर्ने उद्योगको सङ्ख्यामा वृद्धि भएको देखिन्छ । कृषिमा चियादेखि किबी, सुन्तला, अलैँची, अदुवा, दूधजन्य वस्तु यहाँ उत्पादन हुने गर्दछ । इलाममा चिया प्रशोधन र तयार गर्ने सयौँ उद्योग छन् । यहाँ उत्पादित चिया नेपालका विभिन्न क्षेत्रसहित भारत र तेस्रो मुलुक निर्यात हुँदै आएको छ । उत्पादन भएका वस्तु प्रशोधन गर्ने उद्योग स्थापना गर्नेको सङ्ख्या समेत बढ्दै गएको छ ।
जिल्लामा हालसम्म ४ हजार ५६२ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय इलामले जनाएको छ । यहाँ कृषि तथा वन पैदावारमा आधारित २ हजार ४५० उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी किरण कार्कीले जानकारी दिए । उनका अनुसार सेवामूलक १ हजार ३०९ र उत्पादनमूलक ४६७ उद्योग दर्ता भएका छन् । यस्तै पर्यटनतर्फ ३२५, सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रविधिमा आधारित ६ वटा, ऊर्जामूलक ४ र खनिजतर्फ एउटा उद्योग दर्ता भएका छन् ।
इलाममा सञ्चालन भएर पनि धेरै उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता छैनन् । यहाँ उत्पादन भइरहेका ऊर्जामूलक अर्थात् जलविद्युत् आयोजनाहरु कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौँमा दर्ता भएर सञ्चालन भइरहेका छन् भने ४ वटा आयोजना मात्र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको पाइएको छ । इलाममा ४ वटा नदीमा २० भन्दा बढी जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् । सबै चियाका उद्योगसमेत यहाँ दर्ता भएका छैनन् । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कमा ६५ वटा मात्र उद्योग दर्ता भएको तथ्याङ्क छ । जबकि कम्पनी रजिस्ट्रारको कार्यालयमा इलामका लागि भनेर १ हजार १४ उद्योग दर्ता भएका छन् ।
जिल्लामा २ सय बढी चियाका उद्योेग सञ्चालनमा रहेको अनुमान छ । सबै पालिकामा चिया उत्पादन हुन्छ । इलाममा राम्रो अलैँची उत्पादन हुने भए पनि प्रशोधन गर्ने कुनै उद्योग छैन । नेपालमा उत्पादन हुने अलैँची भारत भएर विभिन्न मुलुकमा निर्यात हुने गर्दछ । अलैँची जिल्लामै यसको राम्रो प्रशोधन गर्ने उद्योग भएको भए निकै राम्रो मूल्य पाउन सकिने किसानहरु बताउँछन् । भारतीय व्यापारीको मूल्यमा आफूहरुले अलैँची बिक्री गर्नुपरेको उनीहरुक भनाइ छ । औषधीय गुण भएको अलैँचीको उपयोग मसलाका रुपमा मात्र नभई अत्तरसमेत निर्माण हुने गर्दछ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार बर्सेनि ४ अर्ब १५ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भइरहेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ३ महिनामा ७८३/७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कम हो । आव २०८/८१ मा १ हजार ५२५/९६ मेट्रिक टन अलैँची निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया