थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, कूल संख्या १४ सय नाघ्यो

0
Shares

पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १८५ जना पुरुष ४ महिलामा नयाँ संक्रमण पुष्टि भएको हो।

आज देखिएको सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै हो । शुक्रबार पनि १७० जनामा सङ्क्रमण देखिएको थियो ।

नयाँ सङ्क्रमितमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२४ जनामा संक्रमण देखिएको छ । धनुषाका सात जना २० वर्षदेखि ४४ वर्षका रहेका छन् । झापाका ४५ वर्षीया एक पुरुष र कपिलवस्तुका १६ वर्षदेखि ६० वर्षका ७७ जनामा सङ्क्रमण देखिएको छ । ललितपुरका एक २३ वर्षीया महिला छन् । महोत्तरीका चार २५ देखि ५५ वर्षका पुरुष रहेका छन् । रौतहटका छ जना १८ वर्षदेखि ४५ वर्षका पुरुष रहेका छन् । सर्लाहीका १७ जना १६ वर्षदेखि ४० वर्षका पुरुष र सिराहाका ११ जना १७ वर्षदेखि ४० वर्षका पुरुष रहेका छन् ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २९ जनामा सङ्क्रमण देखिएको छ । कपिलवस्तु यशोधराका २९ जना १५ देखि ५० जना पुरुष रहेका छन् । यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको छ । सप्तरीका १८ देखि २८ वर्षका एक महिलासहित रहेका छन् ।

यस्तै दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आठ जनामा सङ्क्रमण देखिएको छ । ती कपिलवस्तु विजयनगरका तीन जना २६ वर्षदेखि ५२ वर्ष उमेरका पुरुष रहेका छन् । दाङ हापुरेका एक जना ३० वर्षीय पुरुष रहेका छन् । बङ्गलाचुली दाङकै चार जनामा २७ देखि ३८ वर्षका तीन पुरुष र एक २८ वर्षीया महिला छन् ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा तीन जनामा सङ्क्रमण देखिएको छ । बारा हर्दियाका एक २४ वर्षीय पुरुष, पर्सा पसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनामा सङ्क्रमण देखिएको छ । ती सबै दैलेखका १७ देखि ५० वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण देखिएको छ । सङ्खुवासभा खाँदबारीका २३ वर्षीय पुरुष र सङ्खुवासभाकै पाँचखपनका २२ वर्षीय पुरुष रहेका छन् ।

यससँगै हालसम्म १ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १ हजार २८८ जना पुरुष र ११३ जना महिला छन्।आजसम्म २१९ जना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्रै १३ जना डिस्चार्ज भएका हुन् ।

प्रदेशगत रुपमा संक्रमितको विवरण यसप्रकार रहेका छन्:-

  • प्रदेश १ का संखुवासभा सहित ९ जिल्लामा १६० जना
  • प्रदेश २ का सबै ८ जिल्लामा ५४७ जना
  • वाग्मतीका दोलखा सहित १२ जिल्लामा ४५ जना
  • गण्डकी प्रदेशका ५ जिल्लामा २० जना
  • प्रदेश नम्बर ५ का ९ जिल्लामा ५४७ जना
  • कर्णाली प्रदेशका ३ जिल्लामा ६१ जना
  • सुदूर पश्चिम प्रदेशका  ७ जिल्लामा २१ जना छन्।

प्रकाशित मिति: १७ जेठ २०७७, शनिबार  १६ : ३३ बजे