कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या २६२ पुगेको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका सात सहित कर्णाली प्रदेशमा थप २९ सङ्क्रमित पहिचान भएका हुन् । यो सँगै सङ्क्रमितको सङ्ख्या २६२ पुगेको हो ।
महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतको वीरेन्द्रनगर वडा नं १ का आठ जना, वडा नं ३ का तीन जना, सल्यानको दार्मा गाउँपालिकाका नौ जना, सुदूरपश्चिम प्रदेश अछामको मङ्गलसेन नगरपालिका–४ का एकजना र मल्लेख गाउँपालिका–४ का ६ पुरुष र दुई महिला गरी थप २९ जना पहिचान भएको हो। अछामको स्वाबको परीक्षण पनि सुर्खेतस्थित प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा हुँदै आएको छ। नयाँ पहिचान भएका सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
भारत सरकारले लकडाउनकै बीचमा रेल तथा बस सेवा सञ्चालन गरेपछि रोजगारीका लागि त्यहाँका विभिन्न स्थानमा रहेका कर्णालीवासी फर्कने क्रम जारी छ ।
कर्णालीमा पहिचान भएका सबै सङ्क्रमित भारतबाट फर्किएका हुन् । हाल प्रदेशका सबै जिल्लामा आरडिटी परीक्षण र पिसिआरका लागि स्वाब सङ्कलन कार्य भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेशन र १७ भेन्टिलेटर रहेका छन् ।
प्रतिक्रिया