शेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ। प्रि ओपनिङ्ग सेसनमा नै ५३ अंकले बढेको बजारमा दुईटा सकारात्मक सर्किट १ मिनेटभन्दा कम अवधिमा लागेपनि त्यसपछि बजार घटेको थियो।
पहिलो सर्किटमा २० मिनेटमा र दोस्रो सर्किटमा ४० मिनेट कारोबार स्थगित भएर खुला भएको शेयर बजार खुलेपछि निकै उतार चढाव रह्यो। अन्त्यसम्मै बिक्री चाप हाबी भएपछि बजारमा ०.९५ प्रतिशत अर्थात १४.०९ अंकले घटेर १४६४.९४ अंकमा बन्द भएको छ।
आज १८१ कम्पनीका ७० लाख १ हजार २५८ कित्ता शेयर ३३ हजार ४३३ पटक खरीद बिक्री हुँदा २ अर्ब ८० करोड २२ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ। गत सातादेखि बढिरहेको बजारमा छोटो समयमा नाफा सुरक्षित गर्नेहरु सक्रिय बन्दा बजार ऋणात्मक बनेको हो।
आज कारोबारमा आएका १२ उपसमूहको परिसूचकमध्ये ८ सूचक घटेका छन् भने ४ उपसमूहको परिसूचक बढेको छ । ब्यापार, उत्पादन र होटल परिसूचक ४ प्रतिशत बढीले घटेको बजारमा लघुवित्त, अन्य, जीबन बीमा, र जलविद्युतको सूचक पनि १ प्रतिशत धेरैले घटेको छ। बैंकिङ्ग, विकास बैंक, वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ।
आज कारोबारमा आएका ७२ कम्पनीको शेयरमूल्य बढेको छ भने ९९ कम्पनीको शेयरमूल्य घटेको छ। तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।
आजको बजारमा युनाइटेड फाइनान्स, एनआईसी एशिया लघुवित्त र स्पर्स लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। उता गुँरास लघुवित्त र मञ्जुश्री फाइनान्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो।
कारोबार रकमका आधारमा आज एनएमबि बैंकको कारोबार शीर्ष स्थानमा रह्यो। बैंकको ४ लाख ४१ हजार कित्ता शेयर २० करोड १५ लाखमा कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ६३ लाख, एनआईसी एशिया बैंकको १७ करोड ४८ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ।
प्रतिक्रिया