नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार नबिल बैंक (NABIL) को १० प्रतिशत नबिल डिबेञ्चर २०८२ सूचीकृत भएको छ।
बैंकको २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो। यससँगै बैंकको डिबेञ्चरमा लगानी गरेका लगानीकर्ताले उक्त डिबेञ्चर कारोबार गर्न सक्नेछन्।
नबिल बैंक लिमिटेडले २०७६ चैत २ गतेदेखि चैत १६ गतेसम्म लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत वार्षिक १० प्रतिशत ब्याजदर पाइने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा जारी गरेको थियो।
निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिएको थियो। सर्वसाधारणका लागि निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
७ वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।
बैंकले निष्काशन गरेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्ग प्राप्त गर्ने उपकरणहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।
प्रतिक्रिया