अजोड इन्स्योरेन्सको आईपीओ लगानीकर्ताको खातामा, कतिमा खुल्छ कारोबार ?

0
Shares

अजोड इन्स्योरेन्स (AIL) ले साउन ९ गते शुक्रबार गोलाप्रथाबाट १० कित्ता शेयर पाएका लगानीकर्ताको डिम्याट खातामा प्राथमिक शेयर (आईपीओ) पठाएको छ।

कम्पनीले असार २५ देखि २९ गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको ३० लाख कित्ता शेयरसहित १ करोड कित्ता शेयर सिडिएस एण्ड क्लियरिङ्ग हाउसमा सूचीकरण गरि शेयर पाएका लगानीकर्ताको खातामा पठाएको हो।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले कम्पनीको तर्फबाट नेप्सेमा आईपीओ शेयर सूचीकरणका लागि गर्नुपर्ने सम्पूर्ण तयारी सकिएको नोटबजारलाई जानकारी दिए। खत्रीले आज वा भोलिसम्ममा नेप्सेसँग सम्झौता भइसक्ने जानकारी दिए।

नेप्सेमा शेयर सूचीकरण सम्झौता भएको दोस्रो दिनबाटै कम्पनीको शेयर कारोबार खुल्नेछ।

हाल कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ रहेको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि तीन गुणासम्म कारोबार रेञ्ज प्रदान गर्ने गर्दछ। यसअनुसार कम्पनीको पहिलो कारोबारका लागि ९७ रुपैयाँदेखि अधिकतम २९१ रुपैयाँसम्मको कारोबार रेञ्ज प्राप्त गर्नेछ। यहि अनुसार कम्पनीको नेप्सेमा सूचीकरण सम्झौताको भोलिपल्टदेखि कारोबार खुल्नेछ।

कम्पनीको शेयर कारोबारका लागि एआईएल  (@AIL@) कारोबार संकेत प्रदान गरिएको छ। यससँगै कम्पनीको नेप्सेमा यही संकेतबाट कारोबार खुल्नेछ।

कम्पनीको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार २ लाख ७३ हजार जनाले गोलाप्रथाबाट १० कित्ता पाएका थिए। जसको बाँडफाँड साउन २ गते गरिएको थियो।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ११ साउन २०७७, आइतबार  १० : ५५ बजे