अमेरिकामा एकैदिन एक हजार ५९२ को मृत्यु, दक्षिण कोरियामा पनि सङ्क्रमित बढे

0
Shares

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।

गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ।

स्थानीय समयानुसार मङ्गलबार राती ८ः१० सम्म एकै दिनमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बाल्टिमोर आवद्ध विश्वविद्यालयल जानकारी दिएको छ ।

अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जनाको सङ्क्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ ।

कोरोना भाइरसको कारण विश्वभरीमा एक करोड ६९ लाख १ हजार ४०७ जना सङ्क्रमित भएका छन् । गतवर्षको डिसेम्बर महिनाबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसको कारण विश्वभरीमा ६ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण कोरियामा पनि कोभिड १९ का सङ्क्रमित बढे

दक्षिण कोरियामा कोरोना भाइरस कोभिड–१९ का सङ्क्रमित पछिल्लो समयमा बढ्न थालेका छन् । पछिल्लो समयमा यहाँका सङ्क्रमितहरु बढ्न थालेको देखिएको बताइएको छ । यहाँका सरकारी अधिकरीहरुले सोलमा पछिल्लो महिना संङ्क्रमित हुनेहरुको संख्या बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारमा पछिल्लो २४ घण्टामा यहाँ थप ४८ जनामा कोरोना भेटिएको बताइएको छ । बुधबार बिहान सो जानकारी दिइएको हो । योसँगै यहाँका सङ्क्रमितहरुको संख्या १४ हजार २५१ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन ३० जना भन्दा कमै मात्र सङ्क्रमित थपिने गरेको भए पनि गएका केही दिन यता भने त्यसमा बृद्धि भएको र सङ्क्रमितहरु थपिएका बताइएको हो ।

उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा थपिएका ४८ जना सङ्क्रमितमध्ये २९ जना त विदेशबाट आएका नागरिक हुन् । पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि सङ्क्रमणबाट ज्यान जानेको संख्या ३०० जना पुगेको बताइएको छ । यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ ।

यहाँ निकै थोरै संख्यामा मात्र सङ्क्रमितहरु रहेका थिए र यहाँको मृत्यु दर पनि २.११ प्रतिशत मात्र रहेको थियो । यहाँका १३ हजारभन्दा बढी नागरिक निको भएर घर फर्किएका छन् । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा निको हुने व्यक्तिको संख्या ९१ प्रतिशत भन्दा बढी भएको बताएका छन् ।

दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको छ । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्रमितहरुको संख्या बढ्दै गएको देखिएको भए पनि उनीहरु विदेशबाट आएका बढी रहेको बताइएको छ ।

दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो । त्यस यता आजसम्ममा यहाँको सरकारले करिब १५ लाखभन्दा बढी व्यक्तिको परीक्षण गरेको जनाएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ साउन २०७७, बुधबार  १३ : ४९ बजे