टेकु, महाबौद्ध एरिया सिल, जहाँ कोरोना संक्रमण भेटियो त्यहीँ सिल गरिने

0
Shares

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले काठमाण्डौंको टेकु, महाबौद्ध एरिया सिल गर्ने निर्णय गरेको छ।

उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आजको संयुक्त बैठकले सरकारको निर्णय बमोजिम अहिले पूर्ण लकडाउन नगरी संक्रमण देखिएका ठाउँमा सिल गर्ने निर्णय गरेको हो।

सरकारले यसअघि जस्तो पूर्ण लकडाउन नगरी कोरोना संक्रमण फैलिएको स्थान अनुसार सिल गर्ने गरेको थियो। सोही अनुसार टेकु, महाबौद्ध एरिया सिल गरिएको हो। शुक्रबारमात्रै महाबौद्धमा तीन जना कोरोना संक्रमित भेटिएका थिए।

बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी उपत्यकामा सञ्चालित सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको पनि चेकजाँच गर्ने सहमति बैठकमा भएको छ।

यस्तै बैठकले उपत्यका भित्र छिर्ने नाकाहरूमा समेत थप कडाइ गर्ने निर्णय भएको छ। कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरिएको छ। पछिल्लो सम्य संक्रमणको जोखिम बढेको स्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

पछिल्लो समय दिनप्रतिदिन काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या थपिंदै गएको छ। काठमाडौं उपत्यकामा हालसम्म ६७४ जना कोरोना संक्रमित भेटिसकिएको छ । बिहीबार मात्रै काठमाण्डौंमा ८७ जना थपिएका थिए ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ साउन २०७७, शुक्रबार  १५ : ४१ बजे