उद्योगी व्यवसायीले बीमा प्रिमियममा ३३ प्रतिशतसम्म छुट पाउने

0
Shares

सरकारले लकडानको अबधिमा बन्द रहेका उद्योग व्यवसायको बीमाको प्रिमियममा उद्योगी व्यवसायीहरुलाई लकडाउन अवधिको बीमा प्रिमियममा ३३ प्रतिशत छुट पाउने भएका छन्।

बीमा समितिले शुक्रबार आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल बीमक संघ सहभागि रहेका सर्वपक्षिय छलफलमा चार महिने बन्दाबन्दी (लकडाउन) को अवधिको बीमा शुल्कमा उद्योग तथा कलकारखानाहरुलाई ३३ प्रतिशत छुट दिने सहमति भएको हो।

बीमा समितिका सुचना अधिकृत निर्मल अधिकारीका अनुसार बन्दाबन्दीको अवधि र सो पश्चात पनि सञ्चालनमा आउन नसकेका उद्योग व्यवसायको बीमाको प्रिमियममा छुट दिने निर्णय भएको जानकारी दिए।

बीमा समितिले गरेको प्रस्ताव अनुसार छलफलमा ३३ प्रतिशत बीमा शुल्क र हुलदंगा तथा आतंकवाद समेतको रकम सवारी बीमा झै बीमा नविकरणमा छुट दिने प्रस्ताव गरिएको बीमा समितिले जनाएको छ। दुबै जोड्दा कूल ३५ प्रतिशत हाराहारी हुने जनाइएको छ।

यस्तो छुट कूल बीमालेखमा नभई चार महिनाको अवधीमा हुने बीमाशुल्क समानुपातिक रुपमा गणना गरी सोही अवधीको जम्मा शुल्कमा छुट दिइनेछ। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघलाई उद्योगको प्रकृति अनुसार कति समयसम्मका लागि छुट दिने भन्ने विषयको सूची तयार पार्ने कामको जिम्मेवारी पनि बैठकले दिएको छ।

सो पश्चात पुनः छलफल गरेर अन्तिम सहमतिपछि मात्रै बीमा समितिले निर्देशिका जारी गरेर सम्बोधन गरेपछि मात्र यो सहमति अनुसारको छुट कार्यान्वयनमा आउनेछ। यसरी दिईने छुटलाई बीमा पोलिसी नविकरण गर्दा उक्त समयावधिको छुटलाई मिलान हुनेछ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।