सिटिजन लाइफको खुद नाफामा ३० प्रतिशत वृद्धि, करिब २ अर्ब बीमाशुल्क संकलन

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स (CLICL) ले गत आर्थिक वर्षमा आफ्नो खुद नाफा ३०.६७ प्रतिशतले वृद्धि गर्दै २० करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा बीमाङ्किय मूल्याङ्कन अघिको नाफा हो। अघिल्लो आवमा कम्पनीले १५ करोड ३६ लाख ६ हजार नाफा कमाएको थियो।

जीवन बीमा कम्पनीहरुको हकमा नाफाको निर्धारण लेखा परिक्षणको क्रममा हुने बीमाङ्कीय मूल्याङ्कनको क्रममा हुने गर्दछ। बीमांकीय मूल्याङकनपछि मात्र वास्तविक खुद नाफा निर्धारण हुनेछ । बीमाङ्कीय मूल्याङ्कनको क्रममा कम जोखिम देखिए नाफा बढ्नेछ भने बढी जोखिम देखिए नाफा अझै घट्न सक्ने हुन्छ ।

गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा कम्पनीले संकलन गरेको खुद बीमाशुल्क ८० करोड २ लाख रुपैयाँ बढी हो।

गत आवमा कम्पनीले ३ अर्ब ५० करोड दीर्घकालीन लगानी र ३६ करोड ५ लाख रुपैयाँ अल्पकालीन कर्जा लगानी गरि लगानी, कर्जा तथा अन्य शीर्षकबाट १७ करोड ४२ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ। यस्तै बीमालेख धितोमा ११ करोड ४३ लाख ६९ हजार रुपैयाँ लगानी गरी ७१ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिथशेयर आम्दानी ११.४५ रुपैयाँ रहेको छ। बीमा समितिले तोकेको न्यूनतम २ अर्ब पूँजी कायम गर्न कम्पनीले निकट भविष्यमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने ७५ करोड रुपैयाँको प्राथमिक शेयर ( आईपीओ) निष्काशन गर्ने तयारीमा छ। आईपीओपछि चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

इन्स्योरेन्सको जगेडा कोषको आकार २२ करोड ८६ लाखबाट ४९ करोड ६१ लाख रुपैयाँमा, जीवन बीमा कोष ६३ करोड ४८ लाखबाट १ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोष ३ करोड २६ लाखबाट ४ करोड २७ लाख रुपैयाँमा वृद्धि भएको छ।

यस अवधिमा इन्स्योरेन्सले ११५ वटा दाबी बापत १३ करोड ७३ लाख ४८ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ३७ दाबी बापत २ करोड ४९ लाख ३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

हाल इन्स्योरेन्समा १ लाख २४ हजार ६८२ बीमालेख कायम छ भने कूल जारी बीमालेखको संख्या २४ हजार ६० रहेको छ। हालसम्म ३ अर्ब ५३ करोड ५३ लाख ९९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकामध्ये गत वर्ष मात्रै कम्पनीले १ अर्ब ९६ करोड ८३ लाख ६५ हजार रुपैयाँले वृद्धि गरेको हो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।