साधना लघुवित्तको शेयरमूल्यमा आठौं दिनसम्म लगातार सर्किट

0
Shares

साधना लघुवित्त वित्तीय संस्था (SDLBSL) को शेयरमूल्यमा लगातार आठ दिनसम्म सकारात्मक सर्किट लागेको छ। साउन २२ गतेदेखि नेप्सेमा कारोबार सुरु भएको लघुवित्तको शेयरमूल्य आठौं दिनसम्म १० प्रतिशतका दरले बढेर प्रतिकित्ता ८४३ रुपैयाँ पुगेको छ।

साउन २२ गते बिहीबार ३९० रुपैयाँमा पहिलो कारोबार १० कित्ता कारोबार भई खुलेकोमा अर्को १० कित्तामा १.७९ प्रतिशतले बढेर ३९७ रुपैयाँमा कारोबार भएको थियो। सो दिन २० कित्ताको शेयर कारोबार भएकोमा आठौं दिनमा आइपुग्दा मूल्यसँगै कारोबार कित्ता पनि बढ्दै गएको छ।

पहिलो दिन २० कित्ता मात्रै कारोबार भएको लघुवित्तको आठौं दिनमा आइपुग्दा १ हजार ३६० कित्ता शेयर र आज दिउँसो १ बजेसम्ममा नै २ हजार २५० कित्ता शेयर कारोबार भएको छ। पहिलो दिन ७ हजार ८७० रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आठौं दिनमा १० लाख ४१ हजार ७२० रुपैयाँ र आज मंगलबार दिउँसो १ बजेसम्ममा १८ लाख ९५ हजार रुपैयाँमा कारोबार भइसकेको छ।

S.N. Date Open High Low LTP % Change Qty Turnover
9 8/18/2020 782 843 782 843 9.91 2250 1,895,000*
8 8/17/2020 711 767 711 767 9.89 1,360 1,041,720
7 8/16/2020 666 698 666 698 9.92 630 439,170
6 8/13/2020 606 635 606 635 9.86 200 126,490
5 8/12/2020 536 578 536 578 9.89 140 79,850
4 8/11/2020 488 526 488 526 9.81 100 51,630
3 8/10/2020 444 479 444 479 9.86 100 47,010
2 8/9/2020 404 436 404 436 9.82 60 25,360
1 8/6/2020 390 397 390 397 0 20 7,870

 

पहिलो दिन कारोबार रेञ्जभित्र कारोबार भएकोमा सोपछि भदौ २ गते मंगलबार आइपुग्दा आठौं दिनसम्म लगातार दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

किन बढिरहेछ शेयरमूल्य ?

साधना लघुवित्तले गत असार २१ गतेदेखि २४ गतेसम्म ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ सर्वसाधारणलाई निष्काशन गरेको थियो। उक्त आईपीओ गोलाप्रथाबाट १० कित्ताका दरले ६६ हजार १५२ जना आवेदकले प्राप्त गरेका थिए।

कूल आवेदकमध्ये सो आइपीओ करिब १५ प्रतिशतले प्राप्त गरेका थिए। ४ लाख ४७ हजार ८४९ आवेदन सदर भएकोमा १४.७७ प्रतिशत अर्थात ६६ हजार १५२ जनाले मात्रै शेयर पाएका थिए भने ३ लाख ८१ हजार ६९७ जनाको हात खाली भएको थियो।

आईपीओमा नै ८५ प्रतिशतले शेयर नपाएपछि कम्पनीको धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएपश्चात सो कम्पनीको शेयर खरीदमा चाप बढेको हो।

अर्कोतर्फ एकदमै न्यून संख्यामा मात्र आईपीओ जारी भएको र शेयर बजारमा चलखेल गर्न खप्पीस कारोबारीहरुले लघुव्त्तिको शेयर उठाउँदै जाँदा माग बढी आपूर्ति कम हुँदा लघुवित्तको शेयरमूल्य बढ्न सघाउ पुगेको छ।

नयाँ कम्पनीको रुपमा कारोबार हुने यसअघिका राम्रो वित्तीय अवस्था भएका कम्पनीहरुमा पनि सुवाती समयमा ३-४ दिनसम्म भने सर्किट लाग्ने गरेको थियो। तर यो लघुवित्तमा भने आठ दिनसम्म सर्किट लागिसकेको छ।

सीमित शेयरधनी र कम चुक्ता पूँजी हुने यस्ता कम्पनीहरुको शेयरमूल्यमा चलखेल गर्न सकिने भएकाले पनि यस्ता कम्पनीहरु कारोबारीहरुको नजर सधै यस्ता कम्पनीमा रहने गर्दछ। उनीहरुको पहिलो रोजाइमा यस्ता कम्पनी पर्दछन्।

उता आर्थिक समृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकीकृत कारोबार थालेपछि कम्पनीको वित्तीय अवस्था पनि सुधार हुँदै आइरहेको छ। गत आवको चौथो त्रैमाससम्ममा अघिल्लो आवको तुलनामा २ करोड ४२ लाख ४७ हजार रुपैयाँ खुद नाफा बढाएर ४ करोड २ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको लघुव्त्तिको वार्षिक प्रतिशेय आम्दानी भने ३.३२ रुपैयाँले घटेर १८.५० रुपैयाँमा खुम्चिएको थियो। तर अन्य सबेजसो सूचकमा राम्रो प्रगति गरेका कारण लघुवित्तको शेयरमूल्य बढ्ने क्रम जारी छ।

साधना लघुवित्तको अधिकांश सूचकमा सुधार, आईपीओपछि इपीएस भने घट्यो

यसरी शेयरमूल्यमा लगातार बढ्दै जाँदा आईपीओमा शेयर पाउनेलाई नाफा भएपनि दोस्रो बजारमा खरीद गर्नेहरुलाई पनि मूल्य वृद्धिसँगै घट्ने जोखिम पनि उत्तिकै रहन्छ। त्यसैले नवप्रवेशी तथा नियमित लगानीकर्ताहरुले पनि आफ्नो जोखिम लिने क्षमता पहिचान गरेर मात्र लगानी गर्नु श्रेयकर हुन्छ।

धितोपत्रको प्राथमिक बजारमा भन्दा दोस्रो बजारमा धेरै जोखिम हुने हुनाले यस्ता कम्पनीमा लगानी गर्नुपूर्व अरुको लहैलहैमा भन्दा लगानीकर्ताले कम्पनीको व्यवस्थापक, विगतका प्रगति, भविष्यमा हासिल गर्नसक्ने प्रगति, लाभांश क्षमता, मूल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी, जगेडा कोष आदीको विश्लेषण गरेर लगानी गर्नु उचित हुन्छ।

आईपीओ बाँडफाडपछि कम्पनीको चुक्तापूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ पुगेको छ । संस्थापक शेयरको हिस्सा ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणको ३२ दशमलव ५० प्रतिशत पुगेको छ ।

प्रकाशित मिति: २ भदौ २०७७, मंगलबार  १३ : २१ बजे