पूँजी बजार सम्बन्धी निबन्ध लेखन प्रतियोगिता आयोजना हुने, प्रथमलाई २० हजार पुरस्कार

0
Shares

नेपाल धितोपत्र बोर्डका कर्मचारी युनियनले विश्व लगानीकर्ता सप्ताह २०२० का अवसरमा पूँजी बजार सम्बन्धी निबन्ध पहिलो राष्ट्रिय लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कर्मचारी युनियनले आयोजना गरेको पूँजी बजार सम्बन्धी निबन्ध लेखन प्रतियोगितामा नेपालभरका शैक्षिक संस्थामा अध्ययनरत स्नातकोत्तर र एमफिल दर्शनाचार्यसम्म अध्ययन गरिरहेका विद्यार्थीहरुले विभिन्न ६ वटा शिर्षकमध्ये एकमा निबन्ध लेख्नुपर्नेछ ।

देशको द्रुततर विकासमा पुँजी बजारको भुमिका, पूँजी बजार मार्फत महिला सशक्तिकरण, वित्तीय साक्षरता र पूँजी बजार, पूँजी बजार, सेवा प्रवाह र संस्थागत सुशासन, प्रभावकारी पूँजी बजारका लागि सूचना प्रविधि र कोभिड १९ र अबको पूँजी बजार शिर्षकमा निबन्ध लेख्न सकिनेछ । यसरी लेखिएको निबन्ध असोज १४ गतेभित्र इमेल मार्फत पठाउनुपर्नेछ ।

निबन्ध बढीमा ४ हजार शब्द नबढाई नेपाली भाषाको लागि प्रिती फन्ट १४ र अंग्रेजीको लागि टाइम्स न्यू रोमन फन्ट १२ मा टाइप गरिएको, चारैतिर १ इन्च मार्जिन छोडिएको, जस्टिफाई भएको हुनुपर्नेछ ।

निबन्धका साथमा सम्बन्धित कलेज वा विश्वविद्यालयको परिचयपत्रको प्रतिलिपी समावेश भएको हुनुपर्नेछ, भने सहभागीले निबन्धमा सम्पर्क ठेगाना, फोन नं. र इमेल अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएससीका कर्मचारीहरु प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, दोश्रो र तेश्रो हुनेलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ पुरस्कार तथा सम्मान पत्र पाउनेछन् । त्यस्तै, अन्य ३ जनालाई प्रोत्साहन सहित नगद ५ हजार र सम्मान पत्र उपलब्ध हुनेछ ।

प्रतियोगिताको नतिजा २०२० को अक्टोबर महिनामा मनाइने विश्व लगानीकर्ता सप्ताहको अन्तिम दिन प्रकाशन गरिने छ। उत्कृष्ट ठहरिएका लेखहरु समेटेर युनियनले पुस्तक प्रकाशन गर्ने पनि जनाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ भदौ २०७७, बिहीबार  १६ : ०४ बजे