आईपीओ भर्न तयार रहनुहोस्: जनरल इन्स्योरेन्सको ३० करोडको स्वीकृत

0
Shares

जनरल इन्स्योरेन्स कम्पनीले नियामक निकाय धितोपत्र बोर्डबाट प्राथमिक शेयर जारी गर्न अनुमति पाएको छ । बोर्डले कम्पनीलाई बुधबार सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति स्वीकृत गरेको हो ।

कम्पनी गत असार ५ गते ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर बिक्री गर्न अनुमति माग्दै बोर्ड पुगेको थियो ।

हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीले शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटललाई नियुक्त गरेको छ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपालले गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा ३९.७८ प्रतिशतले खुद नाफा बढाएको छ। अघिल्लो आवमा ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा ५ करोड ६ लाख पुगेको छ।

यस्तै इन्स्योरेन्सले ४ करोड ५० लाख रुपैयाँले वृद्धि गरेर २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७.२३ रुपैयाँ र जगेडा कोषको २ करोड ९ लाखले बढेर ४ करोड ६६ लाख पुग्दा प्रतिशेयर नेटवर्थ ११४.६८ रुपैयाँ कायम भएको छ।

कम्पनीको बीमा कोषमा ५ करोड १० लाख र महाविपत्ती जगेडा कोषमा ५२ लाख रुपैयाँ सञ्चित छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।