दशैंको मुखमा खुल्ने भयो तातोपानी नाकाः असोज १९ गतेदेखि सञ्चालनमा आउने

0
Shares

झण्डै तीन महिनादेखि बन्द नेपाल–चीन व्यापारिक नाका तातोपानी असोज १९ गते सोमबारदेखि सञ्चालनमा आउने भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नेपाली र चिनियाँ अधिकारीबीच आज भएको छलफलमा यस्तो समझदारी भएको हो ।

असोज १६ गतेसम्म नेपाली पक्ष र १८ गतेसम्म चिनियाँ पक्षले तयारी सकेर १९ गतेबाट नाका सञ्चालनमा ल्याईने प्रजिअ ढकालले नोटबजारलाई जानकारी दिए ।

नाका सञ्चालनका लागि हाल २५ जना कर्मचारीको पीसीआर गरिएको छ । थप २९ जनाको पीसीआर गराएर दुई लटमा ढुवानीका लागि श्रमिक चीनतर्फ पठाउने सहमति भएको तातोपानी भन्सार कार्यालय प्रमुख लालाबहादुर खत्रीले बताए ।

खत्रीले भने ‘नेपाली कामदारको हरेक ५ दिनमा पीसीआर गर्न चिनीयाँ अधिकारीले प्रंस्ताव राखेकोछ । स्वास्थ्य मापदण्ड पालना गर्दै नाका खुलाउन चीन तयार भएको छ।’

नेपाली वार्ता टोलीको नेतृत्व सिन्धुपाल्चोकका प्रजिअ ढकालले गरेका थिए भने चीनको तर्फबाट तिब्तस्थित बाह्य मामिलाको डेपुटी डाईरेक्टर जनरल लिउलिङले गरेका थिए । तिब्बतको ब्यापार मामिलाका उच्च अधिकारी पनि छलफलमा सहभागी थिए ।

यस्तै छलफलमा नेपालबाट जिल्लास्थित जनस्वास्थ्य प्रमुख, भन्सार प्रमुख, सीमा सुरक्षा बलका अधिकारी र जिल्ला प्रहरी प्रमुख लगायतको सहभागीता थियो ।

नेपालतर्फ पहिरोका कारण असार २४ गतेदेखि नेपालकै आग्रहमा तातोपानी नाका पहिले बन्द भएको थियो । नेपालले आग्रह गर्दा पनि हिमताल फूट्ने जोखिम देखाउँदै चीनले नाका खोल्न आनाकानी गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ असाेज २०७७, मंगलबार  १८ : १७ बजे