स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) ले आज (असोज २५ गते आइतबार) देखि जनकपुर लघुवित्तलाई प्राप्ति गरेर एकीकृत कारोबार थालेको छ । मर्जर पश्चात स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार थालिएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम असोज २ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज १९ गते प्राप्ती हुने जनकपुर लघुवित्तको सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व स्वरोजगार लघुवित्तले सकार्ने गरी अन्तिम स्वीकृति पाएपछि आजदेखि एकीकृत कारोबारका लागि मार्ग प्रशस्त बनेको हो ।
बनेपामा मुख्य कार्यालय रहेको स्वरोजगार लघुवित्तले जनकपुरमा मुख्य कार्यालय रहेको जनकपुर लघुवित्तलाई ७० रुपैयाँ स्वापमा खरिद गरी एकीकृत कारोबार थालेको हो ।
दुबै लघुवित्तको गत साउन १० गते काठमाडौंमा सम्पन्न लघुवित्तको साधारण सभाले उक्त प्रस्ताव पारित गरेका थिए ।
नेप्सेमा सूचीकृत स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख रुपैयाँ छ भने जनकपुर लघुवित्तको ३ करोड ४७ लाख ५० हजार रुपैयाँ छ । जनकपुर प्राप्ती पछि स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३६ करोड ५९ लाख रुपैयाँ नाघेको छ ।
जनकपुर लघुवित्तले साधारण शेयर निष्काशन गरेको छैन । लघुवित्तको संस्थापक शेयर मात्र खरिद गर्ने भएकाले स्वरोजगार लघुवित्तको हाल कायम ५१ अनुपात ४९ को संस्थापक तथा साधारण शेयर संरचनामा पनि परिवर्तन हुने भएको छ ।
जनकपुरलाई विलयपछि स्वरोजगारमा संस्थापक शेयरधनीको हिस्सा ५४ प्रतिशत हाराहारीमा पुग्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया