राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा दुई फर्म विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
विभागले महालक्ष्मी नगरपालिका १ स्थित मनिष ट्रेडिङ्ग कन्सन र बारा जिल्ला रामपुर टोकनी ३ स्थित साहारा एण्ड खातुन ट्रेडर्स विरुद्ध उच्च अदालत पाटनमा आइतबार मुद्दा दर्ता गरेको छ ।
उक्त फर्महरुका संचालक, प्रोप्राईटर तथा मुख्य अभियुक्तहरुबाट २३ करोड २२ लाख करोड विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदाबी लिई मुद््दा दायर गरेको हो ।
विभागले मनिष ट्रेडिङ्ग कन्सर्नका मुख्य कारोबारी किशोरी यादव समेत ३ जनाबाट १३ करोड २५ लाख ८८ हजार २६३ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई असोज २१ गते बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।
कम्पनीले निम्न आर्थिक अवस्था भएका व्यक्तिको नाममा फर्म दर्ता गरि वस्तु तथा सेवा एउटा आयात तथा खरिद देखाइ अर्कै मालवस्तुको झुठ्ठा तथा नक्कली मुल्यअभिवृद्धि कर विजक मात्र विक्री गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ ।
प्रतिवादीहरु ललितपुर, महालक्ष्मी नगरपालिका १ वस्ने मुख्य कारोवारी किशोरी यादव तथा काठमाण्डौं महानगरपालिका वाफल १४ बस्ने बैक खाता संचालक लिहला अग्रवालले मिर्चैया नगरपालिका सिराहा ११ वस्ने मागैन यादवको नाममा फर्म दर्ता गरी उक्त फर्मबाट कपडा, कुर्थासरवाल, रेडिमेड सामान आयात गरेको देखाई फलामे डण्डी, सिमेन्ट, फोटोकपी पेपर, टोनर, पाइप फिटिङ्ग जस्ता मालवस्तुको विक्री विजक वनाई विजक मात्र बिक्री गरि राजस्व चुहावट गरेका हुन् ।
यसैगरी साहारा एण्ड खातुन ट्रेडर्सका प्रोप्राईटर कविरन खातुनबाट ९ करोड ९६ लाख ५४ हजार ७६१ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदाबी लिई असोज १९ गते सोमबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
ट्रेडर्सले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र विक्री गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ ।
ट्रेडर्सले मूल्य अभिवृद्धि करतर्फ ३ करोड २२ लाख ८२ हजार ५७६ रुपैयाँ र आयकर तर्फ ६ करोड ६३ लाख ७२ हजार १८५ रुपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया