बुद्ध एयर २४ औं वर्षमा प्रवेश, सन् १९९७ मा सेवा सुरु गरेको कम्पनीसँग १३ जहाज र ११०० कर्मचारी

0
Shares

बुद्ध एयर आज २३ औं वर्ष पूरा गरेको छ । सन् १९९७ अक्टोवर ११ का दिन नेपाली आकाशमा बुध्द एयरले पहिलो उडान गरेको थियो । एयरले उडानकै शुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीच क्राफ्ट १९०० डी भित्र्याएको थियो ।२३ वर्ष पूरा गर्दा बुद्ध एयरसँग १३ जहाज, ११०० कर्मचारी तथा लाखौंलाख देशीविदेशी यात्रु जोडिन पुगेका छन् ।

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ ले हरेक क्षेत्रलाई नराम्ररी प्रभावित हुँदापनि कम्पनीले १ जना कर्मचारी पनि कटौती नगरी आवश्यक सबै तालिमहरु सम्पन्न गरेको बताउँछन् ।

उनका अनुसार बन्दाबन्दी झण्डै ६ महिना रह्यो र आम्दानी पनि शून्य नै । यस्तो अवस्थामा पनि बुद्ध एयरले १ हजार १०० कर्मचारीलाई नियमित रूपमा तलब बाँड्यो । पहिलो प्राथमिकता नै हरेक कर्मचारीको जीवनयापन सजिलो होस् र हाम्रा जहाजहरुको मर्मत सम्भार रेखदेखमा कुनै पनि अवरोध नआओस् भनेर काम गरेको उनको भनाई छ ।

उनका अनुसार नेपाली आकाशका लागि २४ मार्च ‘कालो दिन’ नै भयो । उडान ठप्प भए पनि जहाजको नियमित मर्मत सम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गर्न मिल्दैन ।

बुद्ध एयरले बन्दाबन्दीको केही दिनमै संक्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याए । जुन नेपालमै कोभिड विरुद्धका पहिलो निर्देशिका थियो ।

कम्पनीले यसलाई अक्षरशः पालना गर्दै हरेक कर्मचारीलाई तालिम तथा सुरक्षा कवच पीपीई प्रदान गरे । यसले महिनौंसम्म काठमाडौंमा मात्र नभई हरेक गन्तव्यमा पूर्वाभ्यास गरेको उनको भनाई छ । २१ सेप्टेम्बरबाट उडान सञ्चालन हुने भएपछि बुद्ध एयरले भाडादरमा ठूलो कटौती गरेको छ । निम्नमध्य आय भएका नेपालीले पनि सुरक्षित तथा संक्रमणरहित यात्रा गरून् भन्ने एक मात्र उद्देश्य रहेको विज्ञप्तिमा जनाएको छ ।

आर्थिक चलायमानका सूचकांकमा यात्रुहरुको ओहोरदोहर पनि एक हो । आन्तरिक पर्यटनलाई पुनः गति दिन बुद्ध एयरले पर्यटकीय गन्तव्य पोखरा र चितवनलाई प्रचार प्रसार गर्दै यसको भगिनी संस्था बुध्द होलिडेजले प्याकेजहरु पनि ल्याएको छ ।

विदेशीका लागि पनि यी दुई गन्तव्य निकै महत्वपूण छन् । यसलाई सुरक्षित र संक्रमणरहित तरिकाले पर्यटकीय गतिविधि सञ्चालन गर्नसकेको खण्डमा विदेशी पर्यटकलाई पनि आत्मवल पुग्न जाने बुद्ध एयरको विश्वास रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।